गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकका पुष्कर गुरुङले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा (युवा ३५ वर्षमुनि) खुलातर्फ उम्मेदवारी घोषणा गरेका छन्।
कांग्रेसको संगठन निर्माण र सामाजिक क्षेत्रमा सक्रिय गुरुङले यसअघि क्षेत्रीय सहसचिवका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनी गोरखा जेसिजका पूर्वअध्यक्षसमेत हुन्।
गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका हुन्। पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवा पुस्ताको सक्रिय सहभागिता र नयाँ सोचलाई कांग्रेसको नेतृत्वमा स्थापित गर्ने उद्देश्यसहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले बताए।
गोरखाको ग्रामीण क्षेत्रदेखि सामाजिक तथा संगठनात्मक क्षेत्रमा काम गर्दै आएका गुरुङले कांग्रेसलाई समयअनुकूल र जनमुखी बनाउने अभियानमा आफ्नो भूमिका प्रभावकारी बनाउने बताएका छन्।
१५औँ महाधिवेशनअन्तर्गत मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।