पूर्व ह्वाइट हाउसका पूर्वप्रेस सेक्रेटरी क्यारोलिन लिभिट आफ्नो नयाँ भूमिकाका रूपमा फक्स न्युजमा आबद्ध हुने भएकी छन्।
फक्स न्युजले सोमबार जनाएअनुसार लिभिटले नोभेम्बर १ देखि नेटवर्कमा अन-एयर कन्ट्रिब्युटरका रूपमा काम गर्नेछिन्।
अन-एयर कन्ट्रिब्युटर भनेको टेलिभिजनमा नियमित कर्मचारी वा प्रस्तोताका रूपमा नभई समसामयिक विषयमा विशेषज्ञका रूपमा कार्यक्रम वा समाचारमा प्रत्यक्ष सहभागी भएर टिप्पणी तथा विश्लेषण गर्ने व्यक्ति हो।
फक्स न्युजकी प्रमुख कार्यकारी अधिकृत सुजेन स्कटले भनिन्, ‘ह्वाइट हाउस र राष्ट्रपतीय निर्वाचन अभियानमा प्रत्यक्ष रूपमा काम गरेको अनुभवले क्यारोलिनलाई आजको राजनीतिक परिदृश्य बुझ्न विशिष्ट क्षमता दिएको छ।’
लिभिटले पनि सोही विज्ञप्तिमा ह्वाइट हाउस प्रेस सेक्रेटरीका रूपमा आफ्नो अनुभवबाट प्राप्त दृष्टिकोण तथा आफ्नो कार्यकालमा देखाएको ऊर्जा र स्पष्टतालाई फक्स न्युजका विभिन्न प्लेटफर्ममार्फत लाखौं दर्शकमाझ पुर्याउन आफू उत्साहित रहेको बताइन्।
२९ वर्षीया लिभिट ह्वाइट हाउसको प्रेस सचिव बन्ने सबैभन्दा कम उमेरकी व्यक्ति हुन्। उनले अगस्टको अन्त्यमा पद छाड्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई आफ्ना ‘सबैभन्दा विश्वासिला सहयोगीमध्ये एक’ भनेका थिए। त्यतिबेला लिभिटले आफ्ना दुई सन्तानसँग बढी समय बिताउन चाहेको बताएकी थिइन्। उनका दोस्रो सन्तान भिभियानाको जन्म मे महिनामा भएको थियो भने उनका दुई वर्षीय छोरा पनि छन्।
ट्रम्पका यसअघिका प्रेस सेक्रेटरीमध्ये काइली म्याकएनानी पनि फक्स न्युजमा आबद्ध भएकी थिइन्। उनी सन् २०२१ मा फक्स न्युजमा प्रवेश गरेकी हुन् र अझै त्यहाँ कार्यरत छिन्। त्यस्तै, पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसका प्रेस सेक्रेटरी डाना पेरिनो पनि फक्स न्युजमा राजनीतिक टिप्पणीकारका रूपमा कार्यरत छिन्।
उता, ट्रम्पले पनि फक्स न्युजका केही व्यक्तित्वलाई आफ्नो प्रशासनका महत्वपूर्ण जिम्मेवारीमा नियुक्त गरेका छन्। तीमध्ये प्रमुख व्यक्ति रक्षा सचिव पिट हेगसेथ हुन्।
ट्रम्प र फक्स न्युजबीचको सम्बन्ध भने पछिल्लो समय केही जटिल बनेको छ। फक्स न्युजका प्रमुख टिप्पणीकारहरूले लामो समयदेखि ट्रम्पलाई अनुकूल समाचार तथा टिप्पणी दिँदै आएका छन्। तर ट्रम्पले फक्स न्युजको समाचार छनोटप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
आइतबार पनि उनले ओहायोमा अघिल्लो रात भएको आफ्नो चुनावी सभाका साथै अलाबामा, टेक्सस र ओक्लाहोमामा भएका सभालाई फक्स न्युजले पर्याप्त कभरेज नदिएको भन्दै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत असन्तुष्टि जनाएका थिए। उनले ती सभाहरूमा ठूलो भीड उपस्थित भएको र हजारौं मानिस प्रवेश गर्न खोजेको दाबी गर्दै ती सभा ‘अत्यन्तै शानदार, पहिलेभन्दा पनि राम्रो’ भएको बताएका थिए।