दाङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका किरणकिशोर घिमिरेले जारी महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) तर्फ उम्मेदवारी घोषणा गरेका छन्।
२०३६ सालदेखि राजनीतिक क्षेत्रमा लागेका घिमिरेले विचार र दृष्टिकोणले कांग्रेसलाई नयाँ पुस्तासँग जोड्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन्।
‘म उमेरले प्रौढ भए पनि अवसरले युवा छु, विचार र दृष्टिकोणले युवा छु। कांग्रेसको केन्द्रीय समितिमा रहेर म आफ्नो विचार र दृष्टिकोणलाई युवाको चेतसँग जोड्न चाहन्छु,’ घिमिरेले आफ्नो उम्मेदवारीबारे बताउँदै भने।
घिमिरेको पारिवारिक सम्बन्ध प्रजातान्त्रिक आन्दोलनसँग सम्बन्धित ‘जयतु संस्कृतम्’ आन्दोलनसँग पनि जोडिएको छ।
२०३८ सालमा कांग्रेसले तत्कालीन समयमा गरेको निर्वाचन बहिष्कारका क्रममा हिरासतमा पुगेका घिमिरे २०४६ र २०६२/०६३ को जनआन्दोलनपछि सक्रिय राजनीतिमा छन्। उनी गत प्रतिनिधिसभा निर्वाचनमा दाङ–२ बाट कांग्रेस उम्मेदवारसमेत बनेका थिए।
घिमिरेले कांग्रेसलाई अब उपयोगिताको सिद्धान्तबाट अघि बढाउनुपर्ने बताउँदै देशलाई सफल बनाउन निजी क्षेत्रको सहभागितामा जोड दिनुपर्ने उल्लेख गरे। माग र आवश्यकताअनुसार सम्भावनालाई बोकेर न्याय र निष्ठालाई जोगाउँदै कांग्रेस अघि बढ्दा मुलुकको हित हुने दाबी गर्दै उनले त्यसका लागि दृष्टिकोण दिन आफू कांग्रेसको केन्द्रीय समितिमा आउन चाहेको बताए।
वर्तमान कांग्रेसभित्र चार पुस्ता जोडिएको उल्लेख गर्दै उनले चारै पुस्तालाई आफूले पार्टीभित्र रहेर समन्वय गराउने दाबी पनि गरे।
उनी विगतमा ट्रेड युनियन राजनीतिमा समेत सक्रिय थिए। उनले श्रमिकहरूको अधिकार संरक्षणका लागि तल्लो तहसम्म पुगेर काम गरेका छन्।
करिब १८ वर्षको समर्पित सरकारी सेवाको अनुभव हासिल गरेका घिमिरेसँग शासन, सार्वजनिक प्रशासन तथा नीति कार्यान्वयनका क्षेत्रमा गहिरो अनुभव छ।
सरकारी जिम्मेवारीसँगै उनी सामाजिक तथा सामुदायिक विकासका विभिन्न अभियानमा समेत निरन्तर सक्रिय रहँदै आएका छन्। समावेशी विकास र जनकल्याणलाई उनले विशेष प्राथमिकता दिँदै आइरहेका छन्।
हाल उनी कांग्रेसका महासमिति सदस्य छन्। पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा उनले योगदान दिँदै आएका छन्।
शैक्षिक रूपमा उनले नेदरल्यान्ड्सस्थित मास्ट्रिख्ट स्कुल अफ म्यानेजमेन्टबाट जनरल स्ट्राटेजिक म्यानेजमेन्टमा पोस्टग्राजुएट डिप्लोमा तथा भारतबाट अर्थशास्त्रमा स्नातकोत्तर (एमए) गरेका छन्। उनको शैक्षिक पृष्ठभूमिले रणनीतिक नेतृत्वसँगै आर्थिक तथा राजनीतिक विषयमा समेत उनलाई राम्रो ज्ञान र अनुभव प्रदान गरेको छ।
घिमिरे नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय सल्लाहकार, नेपाल डेमोक्रेटिक फरेन इम्प्लोयमेन्ट इन्टरप्रेनर्स फोरमका उपाध्यक्ष हुँदै अध्यक्ष र हाल सल्लाहकारको भूमिकामा छन्।