नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य मधु आचार्यले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पार्टीको काभ्रे सभापति रहँदा लोकतान्त्रिक गणतन्त्रको मुद्दालाई उठाएका आचार्यले पार्टी रूपान्तरणको एजेन्डासहित मेची–महाकाली अभियान सञ्चालन गरेका थिए।
विशेष महाधिवेशनको तयारीका क्रममा महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलनदेखि विभिन्न प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्यले विशेष महाधिवेशनबाट तय भएका बाँकी जिम्मेवारी पूरा गर्न उपसभापति पदमा उम्मेदवारी दिने बताए।
‘मैले उपसभापति खुलातर्फ उम्मेदवारी दिँदैछु,’ उनले सेतोपाटीसँग भने। आज उम्मेदवारी दर्ताको कार्यक्रम छ।
आचार्यले पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग निकट रहेर संगठन तथा पार्टीका विभिन्न गतिविधिमा काम गर्दै आएका छन्। उनी उपसभापति शर्मा प्रमुख रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका उपप्रमुखसमेत हुन्।
पार्टीलाई समयअनुकूल रूपान्तरण गर्दै लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धता थप सुदृढ गर्ने तथा संगठनलाई बलियो बनाउने उद्देश्यसहित आफूले उपसभापतिमा उम्मेदवारी दिएको आचार्यले बताए।