नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा राजीव चौधरीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
बारा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित चौधरीले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्न उम्मेदवारी दिन लागेको बताएका छन्।
नेपाल थारू संघ काठमाडौंका अध्यक्षसमेत रहेका चौधरी विद्यार्थी तथा युवा संगठनमा लामो समयदेखि सक्रिय छन्।
चौधरीले कांग्रेसलाई समयअनुकूल, आधुनिक र गतिशील बनाउन नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने बताए। युवालाई संख्यात्मक प्रतिनिधित्वमा सीमित नगरी नीति निर्माण र निर्णय प्रक्रियामै सहभागी गराउनुपर्ने उनको भनाइ छ।
जेनजी आन्दोलनपछि युवामा राजनीतिप्रति बढेको चासोलाई कांग्रेसले पार्टीको विचार, नीति र संगठनसँग जोड्नुपर्ने उनले बताए। साथै, नयाँ पुस्तालाई प्रवेश गराउनेसँगै नेतृत्व हस्तान्तरणको स्पष्ट संस्कार विकास गर्नुपर्ने उनको धारणा छ।
उनले विभिन्न समुदाय र भूगोलका युवालाई पार्टीको अग्रपंक्तिमा ल्याउनुपर्ने तथा थारू समुदायसहित विविध समुदायका मुद्दालाई नीति निर्माण तहमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।
चौधरीले राजनीतिमा दक्ष जनशक्ति भित्र्याउनुपर्नेमा पनि जोड दिएका छन्। अर्थतन्त्र, प्रविधि, शिक्षा, स्वास्थ्य, उद्यम तथा व्यवस्थापनलगायत क्षेत्रमा दक्ष व्यक्तिलाई पार्टीमा जोड्नुपर्ने उनको भनाइ छ।
नेविसंघ हुँदै तरुण दलमा सक्रिय चौधरीले शंकरदेव क्याम्पसको नेविसंघ इकाइ सभापतिको जिम्मेवारीसमेत सम्हालेका थिए। उनी नेपाल थारू संघ काठमाडौंको अध्यक्ष तथा रमदुलारी कन्स्ट्रक्सनका निर्देशकसमेत हुन्। उनले लिंकन कलेजबाट एमबीएस गरेका छन्।
चौधरीले आफ्नो उम्मेदवारीलाई युवा सहभागिता, समावेशी प्रतिनिधित्व, पुस्तान्तरण र नीति निर्माणमा नयाँ पुस्ताको भूमिका स्थापित गर्ने अभियानका रूपमा प्रस्तुत गरेका छन्।