नेपाली कांग्रेसको महामन्त्री पदका लागि महिलातर्फ महालक्ष्मी उपाध्यय डीना र रीता खनालले उम्मेदवारी दिएका छन्।
राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो २ बजेदेखि मनोनयन दर्ताको प्रक्रिया सुरू भएको छ। कांग्रेसको नयाँ विधानअनुसार यसपटक तीन जना महामन्त्री निर्वाचित हुनेछन्। त्यसमध्ये दुई जना खुलातर्फ र एक जना महिलातर्फबाट निर्वाचित हुने व्यवस्था छ।
त्यसमा डीना र रीताबीच प्रतिस्पर्धा हुने देखिएको हो।
डिना कांग्रेसको १४औं महाधिवेशनबाट महिलातर्फ सहमहामन्त्री निर्वाचित भएकी थिइन्। यसपटक उनले सहमहामन्त्रीबाट एक तह माथि महामन्त्री पदमा प्रतिस्पर्धा गर्न लागेकी हुन्।
उनले यसअघि नै महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्दै पार्टीमा आफूले सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले अब थप जिम्मेवारीका लागि अघि बढ्न लागेको बताएकी थिइन्।
डिनाको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरू भएको हो। उनी २०३६ सालको विद्यार्थी आन्दोलनदेखि कांग्रेस राजनीतिमा सक्रिय भएकी थिइन्।
कांग्रेस राजनीतिमा लामो समय सक्रिय रहेकी डिना दुई पटक संविधानसभा सदस्य भएकी छन्। उनी पूर्वजलस्रोत राज्यमन्त्रीसमेत हुन्।
२०७८ सालमा भएको कांग्रेसको १४औँ महाधिवेशनमा उनी महिलातर्फ सहमहामन्त्री निर्वाचित भएकी थिइन्। त्यसअघि पनि उनले पार्टीको केन्द्रीय नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
१५औं महाधिवेशनका लागि डिना मकवानपुर क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि चयन भएकी छन्।
कांग्रेसको १५औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ७ हजार १ सय १४ प्रतिनिधिको अन्तिम मतदाता सूची प्रकाशित गरिएको छ।
नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ भने असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ।
यता खनाल लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय नेता हुन्। उनी नेपाल ट्रेड युनियन कांग्रेसमा समेत लामो समय सक्रिय रहेकी थिइन्।
ट्रेड युनियन आन्दोलनमा काम गरेकी खनालले त्यही पृष्ठभूमिबाट कांग्रेसको मूल राजनीतिमा पनि सक्रियता बढाएकी हुन्।
१५औं महाधिवेशनका लागि उनी मकवानपुरबाट महाधिवेशन प्रतिनिधि बनेकी छन्।
महाधिवेशनमा उनले महिलाको प्रतिनिधित्वलाई पार्टीको नेतृत्वमा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्। कांग्रेसको बदलिएको अवस्था र नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीको नेतृत्व तथा कार्यशैली पनि परिवर्तन हुनुपर्ने उनको धारणा छ।
कांग्रेसको १५औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ। नयाँ कार्यसमितिका लागि ७ हजार १ सय १४ प्रतिनिधि मतदाता छन्।
नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ भने निर्वाचन असोज २१ र २२ गते गर्ने कार्यतालिका छ।