नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा उद्योगी अनिलकुमार रुंगटाले १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
संविधानसभा सदस्यसमेत रहेका रुंगटाले आर्थिक रूपान्तरणको एजेन्डालाई प्राथमिकतामा राखेर उम्मेदवारी दिएको बताएका छन्।
रुंगटा कांग्रेसका पुराना नेता हुन्। उनी लामो समयदेखि उद्योग क्षेत्रमा सक्रिय छन्। स्टिल, फलाम र सिमेन्ट उद्योगमा उनको २५ वर्षभन्दा बढीको अनुभव छ।
उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन्। उनी सम्राट सिमेन्ट कम्पनीका अध्यक्ष पनि हुन्।
रुंगटा सन् २००५ देखि जगदम्बा इन्टरप्राइजेजमा निर्देशकका रूपमा कार्यरत छन्। बिक्री तथा बजार व्यवस्थापन, कच्चा पदार्थ खरिद र उद्योग सञ्चालनमा उनको भूमिका रहँदै आएको छ।
विगतमा तत्कालीन सभापति शेरबहादुर देउवानिकट मानिने रुंगटा कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्। अहिले भने उनी संस्थापन पक्षमा रहेर सक्रिय भएका छन्।
वीरगञ्जका स्थानीय बासिन्दा रुंगटा वाणिज्यमा स्नातक हुन्। उनी गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पर्सा–१ बाट कांग्रेसका उम्मेदवार बनेका थिए।
यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनले पर्सा–१ बाटै कांग्रेसका तर्फबाट प्रतिस्पर्धा गरेका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी समानुपातिकतर्फबाट सांसद बनेका थिए।