नेपाली कांग्रेसका नेता प्रेमकुमार खत्रीले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
गोरखा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि रहेका खत्रीले आज केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
उनले बदलिँदो समयअनुसार कांग्रेसको सोच, संगठन र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए।
उनले कांग्रेसलाई इतिहासको गौरवमा मात्र सीमित नराखी जनतासँग जोडिएको, युवासँग हिँड्ने, प्रविधिमैत्री र परिणाममुखी आधुनिक लोकतान्त्रिक शक्ति बनाउने संकल्पसहित उम्मेदवारी दिएको बताएका छन्।
जनताले कांग्रेससँग केवल सत्ता नभई भरोसा खोजिरहेको, युवाले आश्वासनभन्दा अवसर र कार्यकर्ताले भाषणभन्दा सम्मान तथा न्याय खोजिरहेको उनले उल्लेख गरेका छन्।
‘कांग्रेस हाम्रो इतिहास मात्र होइन, नेपालको लोकतान्त्रिक भविष्यको जिम्मेवार शक्ति हो। इतिहासको गौरवले मात्र भविष्य जितिँदैन,’ खत्रीले भनेका छन्।
उनले आफ्नो उम्मेदवारीलाई कांग्रेसको रूपान्तरण र आधुनिक लोकतान्त्रिक शक्तिका रूपमा पुनर्निर्माण गर्ने अभियानसँग जोड्दै सबैको साथ, सहयोग र सहकार्यको अपेक्षा गरेका छन्।
उनले गोरखामा विद्यालय शिक्षा र स्वास्थ्य तथा पर्यटनका क्षेत्रमा काम गर्दै आएका छन्।