नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधि चुनिएका सुबास रेग्मीले श्रमिक क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
बिन्ध्यवासिनी म्युजिकका सञ्चालकसमेत रहेका रेग्मी २०४८ सालदेखि कांग्रेसको क्रियाशील सदस्यका रूपमा आबद्ध छन्। राजनीतिक गतिविधिसँगै समाजसेवा, गीत–संगीत, कला तथा संस्कृति क्षेत्रमा सक्रिय उनी स्पष्ट र खरो वक्ताका रूपमा परिचित छन्।
पार्टी संगठन, समाजसेवा र कला–संस्कृतिको अनुभवलाई केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको रेग्मीले बताएका छन्। उनले श्रमिक, युवा तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध वर्गको प्रतिनिधित्वलाई प्रभावकारी बनाउँदै पार्टीमा युवाको अर्थपूर्ण सहभागिता र पुस्तान्तरण आवश्यक रहेको बताएका छन्।