नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाल तरुण दलका निवर्तमान अध्यक्ष तथा युवा नेता विद्वान गुरुङले केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी दिएका छन्।
पार्टीको संगठन निर्माण र युवा नेतृत्वमा लामो समयदेखि सक्रिय गुरुङले तरुण दलमा दुई कार्यकाल जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय कोषाध्यक्ष हुँदै केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।
तरुण दलको नेतृत्वमा हासिल गरेको अनुभवलाई अब नेपाली कांग्रेसको केन्द्रीय तहबाट संस्थागत गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने आफ्नो उद्देश्य रहेको उनले बताएका छन्।
गुरुङले कांग्रेसभित्र तरुण तथा युवाको चासो, समस्या र आवाजलाई पार्टीको नीतिगत तहसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। युवाको सहभागिता र नेतृत्वलाई पार्टीको निर्णय प्रक्रियामा थप अर्थपूर्ण बनाउन आफूले भूमिका खेल्ने उनको भनाइ छ।
पर्वतबाट महाधिवेशन प्रतिनिधि रहेका गुरुङले १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा आफूलाई निर्वाचित गराउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।
तरुण दलको नेतृत्वमा काम गरेको अनुभव, संगठन सञ्चालनको ज्ञान र युवा पुस्तासँगको सम्बन्धलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गर्दै उनले कांग्रेसलाई समयानुकूल र थप सुदृढ बनाउन योगदान गर्ने बताएका छन्।