शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा शिक्षा क्षेत्रको मुहार फेर्न ऐतिहासिक दरबार हाइस्कुलजस्ता सुविधासम्पन्न र विश्वस्तरीय विद्यालयहरूको निर्माण अति आवश्यक रहेको बताएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मधेशमा गुणस्तरीय पूर्वाधारसहितका नमूना विद्यालयहरू स्थापना गर्ने सरकारको योजना रहेको स्पष्ट पारे।
कार्यक्रममा मधेस केन्द्रित शिक्षा सुधारका योजनाहरू प्रस्तुत गर्दै मन्त्री पोखरेलले दरबार हाइस्कुलको अवधारणा र यसको आवश्यकतामाथि विशेष जोड दिए।
'सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ मधेसमा हामीले वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर उहाँले मलाई सुझाव पनि दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी चाहिँ मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास स्कुल माध्यमिक तहसम्मको - अहिले चलिरहेको विद्यालयलाई नै रूपान्तरण गरेर वा अन्य कुनै ठाउँमा सारेर चलाउने गरी विभिन्न मोडालिटीमा काम गर्न सक्छौँ। जसरी हुन्छ, दरबार हाइस्कुलजस्ता उत्कृष्ट विद्यालयहरू मधेशमा अझै धेरै आवश्यक छन्।'
उनले थप स्पष्ट पार्दै भने, 'त्यो स्कुल बनाउँदा विद्यार्थीहरू राम्रो वातावरणमा बसेर, आधुनिक सुविधासहित पढ्न सक्ने खालको हुनुपर्छ। कतिपय ठाउँमा शिक्षक र विद्यार्थीको अनुपात नमिल्ने वा पर्याप्त भौतिक संरचना नहुने समस्या पनि छ, त्यसैले हामीले जग्गाको उपलब्धता, भूगोल र जनसङ्ख्याको डेमोग्राफीलाई राम्ररी हेरेर वैज्ञानिक ढङ्गले त्यस्ता विद्यालयहरू निर्माण गर्नुपर्छ।'
काठमाडौँमा मात्र केन्द्रित नभई मधेसका प्रत्येक जिल्ला र क्षेत्रमा विद्यार्थीहरूले विश्वस्तरीय शिक्षा पाउने वातावरण सिर्जना गर्न सरकार लागिपरेको मन्त्री पोखरेलको भनाइ थियो।
ग्राउन्डको वास्तविक यथार्थ र आवश्यकता बुझेर मात्रै शैक्षिक पूर्वाधारको विकास गर्नुपर्ने बताउँदै मन्त्री पोखरेलले मधेशमा शिक्षाको गुणात्मक छलाङ मार्न यस्तै नमूना विद्यालयहरूको निर्माण अपरिहार्य रहेको दोहोर्याए।