नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको सूची सार्वजनिक भएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो।
जारी महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको आकार बढाएर २९७ सदस्यीय बनाइएको छ।
जसमा एक सभापति, एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति, एक महिलासहित तीन महामन्त्री, ११ निर्वाचित र चार मनोनीत गरी १५ सहमहामन्त्री, एक मनोनीत कोषाध्यक्ष तथा ६६ मनोनीत केन्द्रीय सदस्यसमेत रहने छन्।
सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ।
गगन थापा, किशोरिसंह राठौर र श्यामकृष्ण खड्की सभापतिको उम्मेदवार छन्।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ।
महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेको छ। उनी पनि महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएकी छन्।
खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन्।
समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरूङ र रन्जित कर्णले उम्मेदवारी दर्ता गराएका छन्।
खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायको उम्मेदवारी परेको छ।
महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका अनुसार प्रथम नामावलीमा कुनै दाबी–विरोध वा आपत्ति भएमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
दाबी–विरोध तथा आपत्तिको प्रक्रिया पूरा भएपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन भोलि हुनेछ।
राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवन मतदानस्थल तोकिएको छ।
सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम एवम् भातृ एवं शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिका प्रतिनिधिहरूले मतदान गर्नेछन्।
प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन्।
मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछैन।
एक प्रतिनिधिलाई मतदानका लागि करिब ५० मिनेट लाग्न सक्नेछ। मतदान सकिएलगत्तै मतगणना सुरू हुनेछ।
उम्मेदवारको प्रथम सूचीः