नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
सभापतिमा गगन थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौर चुनावी मैदानमा छन्।
असोज २२ गते बिहीबार सभापति पदका लागि निर्वाचन हुँदैछ।
यीमध्ये काठमाडौंको तारकेश्वर नगरपालिका–२ का श्यामकृष्ण खड्कीको उम्मेदवारी भने चर्चामा आएको छ। कारण हो–सभापति पदका अर्का प्रतिस्पर्धी गगन थापासँगको उनको पुरानो सम्बन्ध। खड्की राजनीतिमा गगनका प्रतिस्पर्धी मात्र होइनन्, कुनै समयका शिक्षकसमेत हुन्।
खड्कीले २०४२ सालदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिक यात्रा सुरू गरेका थिए। उनी हाल काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि छन्। उनी काठमाडौं ६ मा क्षेत्रीय सभापति भइसकेका थिए।
उनले शिक्षण पेसामा समेत लामो समय बिताएका थिए। सिद्धार्थ वनस्थली स्कुलमा माध्यमिक तहमा गणित शिक्षकका रूपमा कार्यरत रहँदा उनको विद्यार्थी गगन थापा थिए।
खड्कीले २०४८/०४९ सालतिर सिद्धार्थ वनस्थली स्कुलको कक्षा १० को ‘एच’ सेक्सनमा गगनलाई गणित पढाएको बताउँदै आएका छन्। अहिले सभापति पदमा गगनसँगै प्रतिस्पर्धा गरिरहेका खड्कीले आफ्नो प्रचारप्रसार सामग्रीमा समेत आफूलाई गगन थापाका पूर्वशिक्षकका रूपमा उल्लेख गरेका छन्।
खड्कीले कांग्रेसमा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, पार्टी विधानको पूर्ण पालना गर्ने, संगठनलाई सुदृढ बनाउने र कांग्रेसभित्र एकता कायम गर्ने एजेन्डा अघि सारेका छन्। उनी पार्टीलाई विधि, विधान र संगठनको आधारमा थप बलियो बनाउनुपर्ने पक्षमा छन्।
उता, गगन थापाको राजनीतिक यात्रा पनि नेविसंघबाटै सुरू भएको हो। विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारमा सक्रिय रहँदै उनी सांसद, केन्द्रीय सदस्य र महामन्त्री हुँदै गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बनेका थिए। अहिले उनी पुनः सभापति पदमा दोहोरिन प्रतिस्पर्धामा छन्।
अर्का उम्मेदवार किशोरसिंह राठौर पनि नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन्। उनी नेविसंघ अध्यक्षसमेत थिए। उनी कांग्रेस केन्द्रीय सदस्य हुँदै सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। बर्दियाबाट महाधिवेशन प्रतिनिधि रहेका उनी सभापति पदका लागि चुनावी मैदानमा छन्।
यसरी कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै गर्दा श्यामकृष्ण खड्की र गगन थापाबीचको सम्बन्ध भने अन्य दुई उम्मेदवारको भन्दा फरक देखिएको छ। एक समय शिक्षक–विद्यार्थीको सम्बन्धमा रहेका खड्की र थापा अहिले एउटै पार्टीको सर्वोच्च नेतृत्वका लागि आमनेसामने भएका छन्।