पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा निकटको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।
बुधबार दिउँसो विभागको टोलीले एकै पटक उनी निकटको निवासमा छापा मारेको स्रोतले बतायो।
स्रोतका अनुसार नवराज थपलिया, दिपक तिमिल्सेना,नवीनराज बस्नेत लगायतको घरमा पनि विभागले छापा मारेको हो। उनीहरूको पूर्वप्रधानन्यायाधीशसँग निकट सम्बन्ध देखिएको र कतिपय मुद्दा मामिलाको काममा उनीहरूबीच मिलोमतो देखिएकोले छापा मारेको स्रोतको दाबी छ।
थपलियालाई आफू प्रधानन्यायाधीश हुँदा चोलेन्द्र शमसेरले उच्च अदालतमा नियुक्त गरेका थिए। पछि थपलिया पदीय हैसियको दुरूपयोग गरेको चोलेन्द्र शमसेरसँग मिलेर मुद्दा मिलाउने काम गरेको लगायतका उजुरी परेपछि न्यायपरिषदको छानविनमा परेका थिए। न्यायपरिषदले दुईवर्षअघि उनलाई बर्खास्त गर्यो। तिमिल्सिना भने सर्वोच्च अदालतमा स काम गर्थे।
प्रहरीले असोज १० गते मध्यराति जबरालाई घरबाटै पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याइएको थियो।
त्यहाँबाट उनलाई दिउँसो २ बजेमात्रै छाडिएको थियो। प्रहरी र सरकारले यो घटनालाई सुरक्षा थ्रेटको बहाना दिँदै आएको थियो। तर घटनाक्रमले उनलाई पक्राउ गरी अनुसन्धान गर्न खोजेको देखिएको हो।
प्रहरीले चोलेन्द्र निकट इनाम सापकोटा भन्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै क्रममा उनको मोबाइलबाट सशस्त्र प्रहरी बलका एआइजी वंशीराज दाहालसँगको कुराकानी भेटिएपछि एआइजीलाई समेत निलम्बनमा राखेको छ।