४७ वर्षे लामो राजनीतिक विरासत बनाएकी पुष्पा भुसाल नेपाली कांग्रेसको दोस्रो महिला उपसभापतिमा निर्वाचित भएकी छन्।
विद्यार्थी राजनीतिबाट सुरू भएको ४७ वर्ष लामो अविच्छिन्न निष्ठा, प्राज्ञिक साधना र संसदीय अभ्यासमा खारिएकी पुष्पा काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट महिला उपसभापति बन्न सफल भएकी हुन्।
पार्टीको विधान संशोधनमार्फत महिला उपसभापतिको पद सुनिश्चित हुनु र त्यसमा उनको एक्लो उम्मेदवारी पर्दै निर्विरोध निर्वाचित हुनुले उनको राजनीतिक कद र पार्टीभित्रको सर्व स्वीकार्यतालाई प्रस्ट्याउँछ।
यसअघि कांग्रेस नेता स्वर्गीय शैलजा आचार्य मनोनीत उपसभापति बनेकी थिइन् भने भुसाल यस ऐतिहासिक पदमा निर्वाचन र विधिसम्मत रूपमा स्थापित हुने पहिलो महिला नेता बन्न पुगेकी छन्।
२०१७ साल फागुन १ गते अर्घाखाँचीको पोखरा थोकमा जन्मिएकी पुष्पाको जीवन सुरूदेखि नै राजनीतिक उतारचढाव र सङ्घर्षको बीचबाट हुर्किएको हो।
उनका पिता काशीनाथ गौतम २०१५ सालमै जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्य मन्त्री थिए।
२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र खोसेर पञ्चायती शासन लागु गरेपछि भने काशीनाथ गौतम १४ वर्षसम्म भारतमा निर्वासित हुनुपरेको थियो। त्यही राजनीतिक आँधीबेहरीको छायामा हुर्किएकी पुष्पाले बाल्यकालमै निर्वासनको पीडा र राजनीतिक क्रान्तिको राप ताप नजिकबाट महसुस गरिन्।
बुवासँगै भारतमा बिताएका कठिन दिनहरू र स्वदेश फर्केपछि २०३६ सालको राजनीतिक उथलपुथलसँगै उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत औपचारिक राजनीतिक यात्रा सुरू गरिन्।
१५ औँ महाधिवेशनका लागि अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि बनेकी भुसाललाई पञ्चायत विरोधी आन्दोलनदेखि बहुदलीय प्रजातन्त्रको पुनः स्थापना सम्मका हरेक मोडमा अग्र मोर्चामा रहेर सङ्घर्ष गर्दाको अनुभव छ।
राजनीतिक सक्रियताका क्रममा उनले विभिन्न व्यावसायिक तथा सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरिन्।
नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य, ट्रेड युनियन कांग्रेसको सल्लाहकार, नेपाली कांग्रेसको केन्द्रीय कानुनी सल्लाहकार समिति सदस्य, केन्द्रीय महिला विभाग सदस्य तथा नेपाल महिला संघको दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेर उनले सङ्गठन निर्माणमा आफ्नो बलियो छाप छोडिसकेकी छन्।
कांग्रेसको १२ औँ, १३ औँ र १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा ह्याट्रिक गर्नुले पार्टी पङ्क्तिमा उनको बलियो साङ्गठनिक पकड र प्रभावलाई प्रमाणित गर्छ।
पुष्पा भुसालको व्यक्तित्व केवल दलीय राजनीतिमा मात्र सीमित छैन। उनी बौद्धिक प्राज्ञिक क्षेत्र र कानुनको क्षेत्रमा उत्तिकै प्रखर मानिन्छन्। कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी भुसालले त्रिभुवन विश्वविद्यालयमा १७ वर्षसम्म प्राध्यापन गरिन्। प्राध्यापनसँगै कानुन व्यवसायलाई निरन्तरता दिएकी उनी एक वरिष्ठ अधिवक्ता समेत हुन्।
संसदीय राजनीति र कानुन निर्माणका दृष्टिले भुसालको जीवन सबैका लागि प्रेरणादायी मानिन्छ।
उनले २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै देशको मूल कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
२०५६ सालको संसदीय निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट पराजित भए पनि उनले हार मानिनन्।
पार्टी राजनीति र सामाजिक कार्य गर्दै निरन्तर जनताको मन जितेर २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनले सोही क्षेत्रबाट संविधानसभा सदस्यमा विजय हासिल गरिन्।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिक सांसद बनिन्। त्यही कार्यकालमा चार वर्ष नेपाली कांग्रेसको सचेतक र अन्तिम वर्ष उपसभामुखको जिम्मेवारी निर्वाह गरिन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी नेकपा एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी थिइन्।
पार्टीभित्र सदैव शालीन, विवादरहित र सबैलाई मिलाएर लैजाने क्षमताकी नेत्रीका रूपमा परिचित भुसालको उपसभापति पदमा भएको यो निर्विरोध चयनले काँग्रेसभित्र मात्र नभई समग्र नेपाली राजनीतिक वृत्तमा सकारात्मक सन्देश दिएको छ।