नेपाली कांग्रेस लमजुङका पूर्वजिल्ला सभापति तथा सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
कोइरालाले खस आर्यतर्फबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
२०३८ सालदेखि विद्यार्थी राजनीतिमार्फत कांग्रेसमा सक्रिय भएका कोइराला २०४२ सालमा लमजुङ जिल्ला कार्यसमिति सदस्य बनेका थिए। त्यसपछि २०४८ सालमा क्षेत्रीय सदस्य, २०५४ सालमा क्षेत्रीय सभापति र २०५७ सालमा जिल्ला सचिव बने।
उनी २०६२ देखि २०७३ सालसम्म ११ वर्ष कांग्रेस लमजुङको जिल्ला सभापति रहेका थिए। उनी २०५४ सालको ९औँ महाधिवेशनदेखि लगातार महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य रहँदै आएका छन्।
उम्मेदवारी दर्तापछि कोइरालाले नेता, कार्यकर्ता तथा शुभेच्छुकको सल्लाह र सुझावका आधारमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए। उनले पार्टी संगठनलाई थप प्रभावकारी बनाउने तथा सक्रिय नेता–कार्यकर्ताको सम्मान, हकहित र भूमिकाका लागि काम गर्ने बताए।
कोइराला कांग्रेसका विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा पटक–पटक जेल परेका थिए। २०४२ सालको सत्याग्रह, २०४६ सालको आन्दोलन र २०६१ सालको प्रतिगमनविरोधी आन्दोलनका क्रममा उनी जेल परेका थिए। २०६२/६३ को जनआन्दोलनका क्रममा गोली लागेर उनी घाइते भएका थिए। विभिन्न आन्दोलनका क्रममा उनले करिब एक वर्ष जेल जीवन बिताएका छन्।
कोइरालाले अर्थशास्त्र, नेपाली र मनोविज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका छन्। उनले एमएड र एमए तहको अध्ययन गरेका छन्।
लामो समय जिल्ला संगठनको नेतृत्व सम्हालेका कोइराला हाल सुन्दरबजार नगरपालिकाका नगर प्रमुख छन्। उनी स्थानीय तहदेखि पार्टीको केन्द्रीय नेतृत्वसम्म आफ्नो भूमिका विस्तार गर्ने उद्देश्यसहित महाधिवेशनको प्रतिस्पर्धामा उत्रिएका हुन्।