नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापतिका उम्मेदवार गगन थापाले कांग्रेसभित्र अब औपचारिक रूपमा कुनै गुट नरहेको बताएका छन्।
महाधिवेशन बन्दसत्रमा आज बोल्दै थापाले महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको भविष्य हेरेर विवेकपूर्ण निर्णय गर्न आग्रह गरे।
उनले महाधिवेशनस्थलमा आउँदै गर्दा विभिन्न ठाउँमा ‘गगन थापा समूह’ भनेर चिट बाँडिएको आफूले देखेको बताए।
‘आज यहाँ आउँदै गर्दा मैले देखेँ, साथीहरूले मलाई देखाउनुभएको छ, ठाउँ–ठाउँमा गगन थापा समूह भनेर चिट बाँडिराखेको कहीँ–कहीँ देखियो,’ उनले भने।
थापाले कांग्रेसमा विगतमा रहेका विभिन्न समूह अब समाप्त भएको दाबी गरे। ‘कांग्रेसभित्र अब औपचारिक रूपमा गुट छैन। ७४, ३६, देउवा समूह, कोइराला समूह, विशेष, नियमित सबै समूह आजदेखि सकियो,’ उनले भने।
उनले गुट अन्त्य हुनु १५औँ महाधिवेशनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताए। पार्टीलाई एकताबद्ध बनाउन सबै पक्षका नेता तथा कार्यकर्ताको आवश्यकता रहेको उनको भनाइ थियो।
‘सबैलाई अनुरोध छ, विवेक पुर्याउने साथीहरू हुनुहुन्छ। पार्टीलाई एकताबद्ध गराउने र सबैखालका साथी चाहिन्छ भन्ने विवेक पुर्याउनुहुन्छ भन्ने विश्वास छ,’ थापाले भने।
उनले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै समूह वा गुटको प्रभावमा नपरी कांग्रेसको भविष्य हेरेर मतदान गर्न आग्रह गरे।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ।