राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आर्थिक अनियमितताका आरोपहरूको निष्पक्ष छानबिन गर्न चुनौती दिएका छन्।
बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले केही सञ्चार माध्यम र व्यक्तिहरूले आफूलाई जोडेर भइरहेका चर्चा र आरोपहरूको खण्डन गर्दै आफ्नो सम्पत्ति तथा आर्थिक स्रोतको उच्चस्तरीय छानबिनका लागि तयार रहेको बताए।
उनले आफू माइतीघर मण्डलमा उभिएर छानबिनका लागि सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
उनले आफ्नो आर्थिक स्रोतबारे भइरहेका चर्चाप्रति असन्तुष्टि व्यक्त गर्दै ६० लाख दलित समुदायबाट संकलन भएको भनिएको ६० करोड रुपैयाँको हिसाब खोज्न आग्रह गरे।
उनले आफूलाई सामान्य आर्थिक विवादमा नजोडी विदेशी दातृ निकाय, भारतीय र अमेरिकी सहयोगका नाममा भइरहेका चर्चालाई समेत समेटेर ‘ठूलो भोल्युम’को छानबिन गर्न व्यङ्ग्य गरे।
सुनारले आफूलाई ‘हेडक्वाटर’ बाट परिचालित समूहले नियोजित रूपमा बद्नाम गर्न खोजेको आरोप लगाए।
उनले भने, ‘मलाई ६० लाख दलितले पार्टी खोल्न ६० करोड रुपैयाँ दिएको भनिएको छ भने १० करोड मात्र आएको भनिन्छ। बाँकी ५० करोड कहाँ गयो, त्यो पनि खोजिनुपर्यो। ममाथि उठेका सबै आरोपको निष्पक्ष छानबिन होस् भन्ने मेरो माग हो। भारत, अमेरिका वा अन्य देशबाट पैसा आएको, विभिन्न व्यक्ति तथा संस्थासँग मेरो सम्बन्ध रहेको, बालुवाटारमा घर किनेको वा सुन व्यवसायमा लगानी रहेको जस्ता आरोप छन् भने ती सबैको छानबिन गरियोस्। प्रमाण छ भने सार्वजनिक गरियोस्, छैन भने निराधार आरोप लगाउनेलाई पनि जवाफदेही बनाइयोस्। म त माइतीघरमा बसेर पनि छानबिनका लागि तयार छु।’
उनले अगाडि भने, ‘मेरो घरमा छापा हान्नुपर्छ भने हानियोस्, सम्पत्ति छानबिन गर्नुपर्छ भने गरियोस्। तर आरोप लगाउने र आरोपित सबैको समान रूपमा छानबिन हुनुपर्छ। हेडक्वार्टर र त्यहाँका जिम्मेवार व्यक्तिहरूमाथि पनि प्रश्न उठेका छन्। त्यसैले मेरो चुनौती छ, मेरो मात्र होइन, आरोप लागेका सबैको घर, सम्पत्ति र स्रोतको निष्पक्ष छानबिन गरौँ। म छानबिनबाट भाग्ने होइन, छानबिनलाई स्वागत गर्ने व्यक्ति हुँ। दोषी जो भएपनि कानूनअनुसार कठघरामा उभ्याउनुपर्छ।’
उनले आफ्नो नाम जोडिएका विभिन्न आर्थिक मामिलाहरू र बालुवाटार जग्गा प्रकरणदेखि सुन पसल सम्मको लगानीको समेत निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आह्वान गरे। –न्युज एजेन्सी नेपाल