नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तनहुँ क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सभापति श्यामकुमार मौरती केन्द्रीय सदस्य (दलित खुला) तर्फ उम्मेदवार बनेका छन्।
तनहुँको मिर्लुङका मौरतीले ३० वर्षदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
उनले तनहुँ क्षेत्र नम्बर १ का विभिन्न गाउँ–बस्तीका सामाजिक तथा जनजीविकासँग सम्बन्धित समस्यासँग नजिक रहेर काम गरेको बताएका छन्।
मौरती १४औँ महाधिवेशनमा तनहुँ क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए। त्यसअघि १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।
उनले २०७२ सालमा काठमाडौंस्थित दलित विकास समितिको बोर्ड सदस्यका रूपमा काम गरेका थिए।
यसैगरी नेपाल दलित संघ तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति र २०५३ सालमा आरआर क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाई सदस्यका रूपमा पनि काम गरेका थिए।
केन्द्रीय सदस्यमा निर्वाचित भएमा अग्रजको सम्मान गर्दै युवाका भावनासँग नजिक रहेर बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचारलाई आत्मसात् गर्दै अघि बढ्ने मौरतीले प्रतिबद्धता जनाएका छन्।