नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि सुदूरपश्चिम क्लस्टरबाट विजय स्वाँरले उम्मेदवारी दिएका छन्।
कैलाली क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित स्वाँरले पार्टीको केन्द्रीय नेतृत्वमा रहेर सुदूरपश्चिमका राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दालाई प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन्।
सुदूरपश्चिमको विकास, पार्टी संगठनको सुदृढीकरण तथा कांग्रेसलाई थप सशक्त र जनमुखी बनाउन आफ्नो उम्मेदवारी केन्द्रित रहने स्वाँरको भनाइ छ। उनले पार्टीभित्र युवाको सहभागिता र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।
नेपाल यातायात मजदुर सङ्घमार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाएका स्वाँर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको केन्द्रीय अध्यक्षसमेत भइसकेका छन्। उनी विशेष महाधिवेशनमार्फत कांग्रेसको केन्द्रीय सदस्य पनि बनेका थिए।
उनी गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट कांग्रेसका तर्फबाट उम्मेदवार थिए।
१५औँ महाधिवेशनको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। महाधिवेशनले पार्टीको आगामी नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन गर्नेछ।
स्वाँरले आफ्नो उम्मेदवारीलाई सुदूरपश्चिमका कांग्रेस नेता–कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिको भावना र अपेक्षासँग जोडेर अघि बढाउने बताएका छन्।