भारत सरकारले नेपालका लागि नयाँ राजदूतका रूपमा सुधाकर दलेलालाई नियुक्त गर्ने भएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दलेलालाई राजदूतका नियुक्त गर्न भारतीय सरकारले तयारी गरेको हो।
भारतीय विदेश मन्त्रालयका अनुसार उनी परराष्ट्र सेवाका सन् १९९३ ब्याचका अधिकारी हुन्।
दलेला यसअघि भुटानका लागि भारतीय राजदूतका रूपमा सन् २०२२ देखि २०२५ सम्म कार्यरत थिए। उनले भारतको विदेश मन्त्रालयमा नेपाल र भुटानसँगको सम्बन्ध हेर्ने महत्वपूर्ण जिम्मेवारी समेत सम्हालिसकेका छन्।
दलेला सन् २००६–०७ मा विदेश मन्त्रालयका ‘डाइरेक्टर (नर्थ)’ र सन् २०१६ देखि २०१९ सम्म ‘जोइन्ट सेक्रेटरी (नर्थ)’ थिए। उक्त जिम्मेवारीमा उनले नेपाल र भुटानसँग भारतको सम्बन्ध हेरेका थिए।
उनले नयाँ दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा सन् २००९ देखि २०११ सम्म निर्देशकका रूपमा काम गरेका थिए। त्यहाँ उनले दक्षिण एसियाली छिमेकी, पूर्वी एसिया तथा इन्डो-प्यासिफिक, खाडी, मध्यपूर्व र अफ्रिकी मुलुकसँग भारतको सम्बन्धसम्बन्धी विषय हेरेका थिए।
व्यापार तथा आर्थिक कूटनीतिमा समेत अनुभव भएका दलेलाले वाणिज्य मन्त्रालयमा ‘डाइरेक्टर (ट्रेड पोलिसी)’का रूपमा काम गरेका थिए। उनले विश्व व्यापार संगठन (डब्ल्युटिओ) स्थित भारतको स्थायी नियोगमा दुईपटक जिम्मेवारी सम्हालेका थिए भने सन् २०१४ देखि २०१६ सम्म भारतका उप-स्थायी प्रतिनिधि थिए।
अमेरिकामा पनि उनले विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेका छन्। उनी शिकागोस्थित भारतीय महावाणिज्यदूत थिए भने वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री र सन् २०२० देखि २०२२ सम्म उपप्रमुख (डेपुटी चिफ अफ मिसन) थिए।
दलेलाले सन् २०२५ सेप्टेम्बर १ देखि भारतीय विदेश मन्त्रालयमा ‘सेक्रेटरी (इकोनोमिक रिलेसन्स)’को जिम्मेवारी सम्हालिरहेका छन्।
उक्त भूमिकामा उनले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथसँगको विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदीयमान रणनीतिक प्रविधि सम्बन्धी विषय हेर्दै आएका छन्। उनी ब्रिक्स, आइबिएसए र आई२यू२का लागि भारतका ‘शेर्पा’समेत हुन्।
इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका दलेला नेपालका लागि भारतका नयाँ राजदूत बन्न लागेका हुन्। यसअघि राजदूत रहेका नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी फर्किसकेका छन्।