नेपाली कांग्रेसको १५ औं महधिवेशनअन्तर्गत मतदान कार्यक्रमको समय सरेको छ।
आज बिहान ७ बजेदेखि मतदान गर्ने भने पनि केन्द्रीय निर्वाचन समितिले पटक पटक समय सार्दै लगेकोमा अपराह्न सवा ४ बजे पत्रकार सम्मेलन गरी भोलि बिहान ७ बजेदेखि मतदान सुरू गर्ने जानकारी दिएको हो।
शुक्रबार बिहान ७ बजेदेखि सुरू भई मतदान अपराह्न ३ बजेसम्म चल्नेछ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्।
यस्तो छ सूचना-
नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको आज अन्तिम दिन असोज २२ गते मतपत्र छपाइमा केही ढिलाई भएका कारण निर्धारित समयमा निर्वाचन प्रक्रिया प्रारम्भ गर्न नसकिएको पनि अहिले सबै मतपत्र छपाई भएर आइपुगेको छ। मतपत्र तयार छ। मतदान प्रक्रियामा खटिने सम्पूर्ण जनशक्ति पनि तयार छ। मतदान केन्द्रमा मतदानका लागि सबै व्यवस्थापन तयार गरिसकिएको छ। आवश्यक स्वयंसेवकहरू तयार छन्। थप सुरक्षा आवश्यक पर्दा सुरक्षा व्यवस्था समेत सम्पूर्ण रुपमा तयार छ। मतदाताहरू मत व्यक्त गर्नका लागि बिहानैदेखि प्रतीक्षारत रहनु भएको छ।
तथापि, यसबीच रातीको समयमा रातभर लगाएर निर्वाचन गराउनु उचित नहुने भन्ने हामीलाई विभिन्न कोणबाट प्राप्त भएका सकारात्मक सुझाव तथा सम्भावित प्रतिकूल मौसम समेतलाई दृष्टिगत गर्दै एवं पार्टी नेतृत्वले अहिले नै निर्वाचन प्रक्रिया बढाउन आग्रह गरेको भएता पनि रातको समयभन्दा बिहानको समयमा मतदान प्रारम्भ गर्नु उचित हुने देखिएको छ। तसर्थ, भोलि २०८३ असोज २३ गते बिहान ठीक ७:०० बजेबाटै ज्येष्ठ मतदाताबाट मतदान प्रारम्भ गरी अपराह्न ३:०० बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम तय गरिएको छ। आज निर्धारण गरिएकै मतदान केन्द्रमा सम्बन्धित प्रदेश तथा भातृ तथा शुभेच्छुक संस्था एवं नेपाली जनसम्पर्क समितिका निर्वाचन हुने समेत अवगत गराइन्छ।
राजु कटुवाल
सदस्य सचिव