नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै सशक्त कांग्रेस निर्माण गर्ने बताएका छन्।
आज प्रेस विज्ञप्ति जारी गर्दै खड्गीले कांग्रेस स्थापनाका लागि योगदान गर्ने संस्थापक नेताहरू तथा लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उनले पार्टीमा कोही पनि निर्विकल्प नहुने मान्यताका साथ आफू सभापति पदमा उम्मेदवार बनेको बताएका छन्।
‘पार्टीमा कोही पनि निर्विकल्प हुँदैन भन्ने मान्यताका साथ तपाईंहरू महाधिवेशन प्रतिनिधिहरूसमक्ष उम्मेदवारका रूपमा खडा भएको छु,’ उनले भनेका छन्।
कांग्रेस र लोकतन्त्रमाथि देखिएका चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्ने उद्देश्यका साथ आफू महाधिवेशनको मैदानमा रहेको उनको भनाइ छ।
खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब वा प्रभावमा नपरी विवेकको मत प्रयोग गर्न अपिल गरेका छन्।
साथै मतदान, मतगणना र परिणाम घोषणा निष्पक्ष तथा निर्भय वातावरणमा हुने सुनिश्चितता गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।
कांग्रेस महाधिवेशनमा सभापति पदमा गगन थापा र खड्गी उम्मेदवार छन्।