नेकपा एमालेले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशन मिति तोकेको छ।
एमाले पार्टी कार्यालय, च्यासलमा बसेको स्थायी कमिटीको बैठकले पार्टीका वडा कमिटीहरूको अधिवेशन आगामी मंसिर २६ गते र पालिका तहको अधिवेशन आगामी पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको छ।
बैठकले मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने समेत निर्णय गरेको छ।
राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने एमालेले जनाएको छ।
पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि एमालेले गरेको छ।
बैठकले मधेस प्रदेश सभामा समानुपातिकतर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्ने जैनब खातुनको निधन भएर रिक्त स्थानमा मापदण्ड नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय पनि गरेको छ।