परराष्ट्र मन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेश मन्त्री सिनेटर पेनी वङबीच भेटवार्ता भएको छ।
मेलवर्नमा भएको द्विपक्षीय भेटवार्तापछि अस्ट्रेलिया सरकारले नेपाललाई थप १५ मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेको छ। यसअघि अस्ट्रेलियाले आपतकालीन प्रतिकार्यका लागि प्रतिबद्ध गरेको ११ मिलियन अस्ट्रेलियन डलर सहयोग गरेको थियो।
भेटमा अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दुःख र सहानुभूति व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुनर्निर्माणका प्रयासमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताइन्।
मन्त्री खनालले विपद्को समयमा अस्ट्रेलिया सरकारबाट प्राप्त शिघ्र तथा उदार मानवीय सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरे।
भेटवार्तामा जलवायु परिवर्तनबाट नेपाल र प्रशान्त क्षेत्रका मुलुकहरूमा परेको साझा जोखिमका विषयमा पनि छलफल भएको थियो।
दुई मन्त्रीबीच शैक्षिक सहकार्य विस्तारका विषयमा पनि छलफल भएको थियो।
नेपालमा अस्ट्रेलियाबाट मान्यताप्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम (टिभिइटी) संस्थाहरू स्थापना गर्ने तथा अस्ट्रेलियाका विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस नेपालमा स्थापना गर्ने विषयमा पहल अघि बढाउने सम्भावनाबारे समेत छलफल भएको थियो।
मन्त्री खनालले विद्यार्थी भिसासम्बन्धी नीतिगत परिवर्तनका कारण नेपाली विद्यार्थीमा समस्या हुनसक्ने उल्लेख गर्दै मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अनुकूल र न्यायोचित व्यवस्था गर्न आग्रह गरेका छन्।
भेटवार्तामा व्यापार तथा प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन प्रवर्द्धन र श्रम गतिशीलता लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल भएको थियो। त्यसैगरी, नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा समेत दुई पक्षबीच कुराकानी भएको थियो।
प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।