सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आफूहरू मात्रै आधिकारिक कांग्रेस भएको भ्रम नपाल्न आग्रह गरेका छन्।
बिहीबार देउवा समूहको लम्कीचुहा नगरपालिकाको नगर अधिवेशन उद्घाटन गर्दै शाहले कांग्रेसको आधिकारिकताका विषयमा आफूहरूले गरेको काम मात्रै पूर्ण हुन्छ भन्ने सोच गलत भएको बताए।
उनले खुला मञ्चमा अधिवेशन भइरहँदा कांग्रेसलाई एकताबद्ध बनाउने विषयमा छलफल हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए।
कांग्रेसलाई विधान, विचार र आपसी विश्वासका आधारमा एकढिक्का बनाउन आफूहरू चाहेको उनको भनाइ थियो।
अदालत र निर्वाचन आयोगका प्रक्रिया आफ्नो ठाउँमा रहेको भन्दै शाहले राजनीतिक रूपमा निर्वाचित जनप्रतिनिधिलाई नियमित महाधिवेशनमा सहभागी हुँदा पद जाने भन्दै धम्क्याउने प्रयास भइरहेको बताए।
‘हामी पद पाउन मात्रै निरन्तर राजनीतिमा लागेका होइनौँ। हाम्रो विचार मिलेन भने जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ,’ उनले भने।
पद गौण भएको बताउँदै शाहले आफूले राजीनामा गोजीमा राखेर हिँडेको भन्दै नधम्क्याउन र नतर्साउन चेतावनी दिए।