नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।
ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन्।
मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा लागेका थिए।
बिहीबार बिहान ७ बजेदेखि सुरू हुने भनिएको मतदान बिहान १० बजेका लागि सारिएको थियो। फेरि दिउँसो १ बजे सारिएको मतदान आज बिहानदेखि मात्रै सुरू भएको हो।
मतदानका लागि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ।
मतदानका लागि खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी तीनवटा केन्द्र तोकिएको छ।
७ हजार ३१७ प्रतिनिधिहरूले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन्।
पदाधिकारीमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइसकेका छन्।
सभापतिका लागि गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन्।
चार उपसभापतिमध्ये दुई खुला पदका लागि सात जना उम्मेदवार छन्।
गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे खुलातर्फ प्रतिस्पर्धामा छन्।
समावेशीतर्फको एक उपसभापति पदका लागि जीवन परियार, फरमुल्लाह मन्सुर, विनोद चौधरी, रञ्जित कर्ण र सीता गुरूङ गरी पाँच जना प्रतिस्पर्धामा छन्।
तीन महामन्त्रीमध्ये दुई खुला पदका लागि आठ जनाको उम्मेदवारी परेको छ।
अमरसिंह पुन मगर, उदयशमशेर राणा, गुरूराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनीलकुमार शर्मा उम्मेदवार छन्।
महिला महामन्त्रीको एक पदका लागि डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रीता खनाल प्रतिस्पर्धामा छन्।
को-को छन् अरू उम्मेदवार?