अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका छन्।
इरानसँग युद्ध अन्त्य गर्ने विषयमा ‘फलदायी’ छलफल भइरहेको दाबी गर्दै उनले चुनावअघि आक्रमण नगर्ने बताएका हुन्।
‘हामी इरानको इस्लामिक गणतन्त्रसँग फलदायी छलफल गरिरहेका छौँ। नोभेम्बर ३ मा अमेरिकामा हुने मध्यावधि निर्वाचनअघि हामी कुनै पनि बेला इरानमाथि आक्रमण गर्ने छैनौँ,’ ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्।
अमेरिका र इजरायलले गत फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध ६ महिनादेखि जारी छ।
यसले ट्रम्पको घरेलु लोकप्रियतामा असर पारेको छ भने नोभेम्बरको निर्वाचनमा आफ्नो झिनो बहुमत जोगाउने प्रयासमा रहेका रिपब्लिकन सांसदहरूलाई समेत दबाबमा पारेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
रोयटर्स र इप्सोसले हालै गरेको सर्वेक्षणअनुसार करिब ६० प्रतिशत अमेरिकी नागरिक इरानसम्बन्धी विषयमा ट्रम्पले गरेको व्यवहारप्रति असन्तुष्ट छन्।
असन्तुष्ट हुनेमा रिपब्लिकन पार्टीका चारमध्ये एक मतदाता पनि छन्।
युद्धका कारण पेट्रोलको मूल्य तीव्र रूपमा बढेको छ। जीवनयापनको खर्च अमेरिकी मतदाताको प्रमुख चिन्ताका रूपमा रहेका बेला इन्धनको मूल्यवृद्धिले ट्रम्पमाथि थप दबाब सिर्जना गरेको छ।
ट्रम्पले भने निर्वाचनपछि तेलको मूल्य घट्ने दाबी गर्दै आएका छन्। तर, युद्ध अन्त्य गरेर अमेरिका कसरी बाहिरिने भन्ने विस्तृत योजना उनले सार्वजनिक गरेका छैनन्।
युद्ध अन्त्य गर्ने र विश्वको महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्ग होर्मुज जलडमरु पुनः खोल्ने विषयमा अमेरिका र इरानले पछिल्ला साताहरूमा प्रस्ताव आदानप्रदान गरेका छन्। तर, इरानले पछिल्लो पटक दिएको प्रस्ताव ट्रम्पले अस्वीकार गरेका छन्।
यसैबीच, इरानले आफ्नो युरेनियम प्रशोधन कार्यक्रम नत्याग्ने र भण्डारणमा रहेको युरेनियम अन्यत्र नबुझाउने जनाएको छ।
इरानको परमाणु ऊर्जा संगठनका प्रमुखलाई उद्धृत गर्दै इरानी सरकारी सञ्चारमाध्यमले बिहीबार यस्तो खबर दिएका हुन्।
केही दिनअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको कुराकानीमा इरानले युरेनियम प्रशोधन गर्ने आफ्नो क्षमता ‘अर्थपूर्ण रूपमा’ घटाउनुपर्ने बताएका थिए।
अमेरिका, इजरायल र पश्चिमी मुलुकहरूले इरानले परमाणु हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन्। इरानले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ।