अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध युद्ध फेरि चर्काउने वा नचर्काउने भन्ने निर्णय गरिनसके पनि अमेरिकी सेनाले ठूलो सैन्य आक्रमणका विकल्प तयार पारेको छ।
रक्षा मन्त्रालयले ट्रम्पको निर्देशनमा इरानका मिसाइल तथा ड्रोन भण्डार, ऊर्जा पूर्वाधार र अन्य सैन्य अखडालाई लक्ष्य गरी आक्रमणको योजना बनाएको भनेर अमेरिकी अधिकारीहरूको हवाला दिंदै द न्युयोर्क टाइम्सले जनाएको छ।
यसैबीच तीनवटा अमेरिकी विमानवाहक युद्धपोत मध्यपूर्वमा तैनाथ हुने तयारीमा छन्।
अमेरिकी अधिकारीहरूका अनुसार उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरूले गत शुक्रबार क्याम्प डेभिडमा सम्भावित सैन्य कारबाहीबारे छलफल समेत गरेका थिए।
प्रस्तावित योजना अनुसार करिब तीन दिनसम्म तीव्र आक्रमण गर्ने तयारी छ।
आक्रमण भएमा इरानको मिसाइल र ड्रोन क्षमतामाथि मुख्य प्रहार हुनेछ।
फेब्रुअरीमा सुरू भएको युद्धको प्रारम्भिक चरणमा क्षति पुगेका यी सैन्य क्षमता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)ले पुनः निर्माण गरिरहेको छ।
ऊर्जा पूर्वाधार र आइआरजिसी कमान्ड केन्द्र पनि सम्भावित निशानामा छन्।
तर ट्रम्पले पछिल्ला महिनामा इरान वा यमनस्थित इरानसमर्थित हुथी विद्रोही विरुद्ध ठूलो सैन्य कारबाही गर्ने पाँचवटा प्रस्ताव अस्वीकार गरिसकेका छन्।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले अमेरिकी समसदीय निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताएका थिए। दुवै देशबीच परिणाममुखी छलफल भइरहेको उनको भनाइ थियो।
कूटनीतिक वार्ता र सैन्य दबाब
अमेरिका र इरानबीच मध्यस्थकर्ता मार्फत वार्ता जारी छ। तर इरानको आणविक कार्यक्रमबारे दुवै पक्षबीच सहमति हुन सकेको छैन।
अमेरिका पहिले आणविक कार्यक्रमबारे सम्झौता गर्न चाहन्छ। इरानी वार्ताकार भने उक्त विषयलाई वार्ताको अन्तिम चरणमा राख्नुपर्ने अडानमा छन्।
ट्रम्प सरकारभित्रै पनि सैन्य आक्रमणले इरानको रणनीति बदल्न सक्छ कि सक्दैन भन्नेमा शंका बढेको छ। केही अधिकारी आर्थिक दबाबलाई निरन्तरता दिएमा इरानलाई थप लचिलो हुन बाध्य पार्न सकिने विश्वास गर्छन्।
यसबीच इरानले स्ट्रेट अफ हर्मुजमा तेल ओसार्ने जहाजमाथि आक्रमण बढाएको छ।
बेलायती नौसेनाले सञ्चालन गर्ने निगरानी समूहका अनुसार सेप्टेम्बर यता इरानले कम्तीमा १३ वटा जहाजलाई निशाना बनाएको छ। अमेरिकी गुप्तचर प्रतिवेदनमा यो संख्या झन्डै २० रहेको अधिकारीहरूले बताएका छन्।
तर पछिल्ला आक्रमणको जबाफमा अमेरिकाले इरानभित्र ठूलो प्रत्याक्रमण भने गरेको छैन। अमेरिकी सेनाले इरानी ड्रोन र क्रुज मिसाइल खसाल्ने काम भने जारी राखेको छ।
हतियारको भण्डारमाथि दबाब
इरानले सैन्य रणनीति सुधार्दै अमेरिकी सैन्य अखडालाई निशाना बनाउन थालेपछि उसका मिसाइल रोक्न अमेरिकाले पहिलेभन्दा धेरै अवरोधक मिसाइल प्रयोग गर्नुपरेको छ।
चिनियाँ कम्पनीबाट प्राप्त भूउपग्रह तस्बिरले पनि इरानलाई अमेरिकी सैन्य अखडाको लक्ष्य पहिचान गर्न सहयोग गरेको अमेरिकी गुप्तचर सम्बन्धी जानकारी पाएका व्यक्तिहरूले बताएका छन्।
मध्यपूर्वमा अमेरिकी सैन्य अखडा र क्षेत्रीय ऊर्जा पूर्वाधारमाथि हुने आक्रमण रोक्न कठिन हुँदै गएकोमा अमेरिकी कमान्डरहरू चिन्तित छन्। अमेरिकाले युरोप र एसियाबाट समेत हतियार मध्यपूर्वमा ल्याएको छ।
थियोडोर रुजवेल्ट विमानवाहक युद्धपोत गत साता सान डिएगोबाट प्रस्थान गरेको थियो। यो जर्ज एच डब्ल्यु बुस र जर्ज वासिङ्टन विमानवाहक युद्धपोतसँगै मध्यपूर्व पुग्ने अपेक्षा छ।
अक्टोबरको अन्त्यसम्ममा यस क्षेत्रमा २० हजारभन्दा बढी अमेरिकी नौसैनिक र मरीन सैनिक तथा सयौँ विमान तैनाथ हुनेछन्।
यद्यपि, सैन्य शक्ति बढाउँदैमा ट्रम्पले आक्रमणको अनुमति दिने निश्चित छैन।
अमेरिकी अधिकारीहरू मध्यपूर्वमा थप युद्ध चर्काउँदा प्रतिरक्षात्मक हतियारको भण्डार अझ घट्ने र इरानका आक्रमण रोक्ने अमेरिकी क्षमतामा दबाब बढ्ने चिन्ता व्यक्त गरिरहेका छन्।
इसराइलको अक्टोबर २७ को निर्वाचन र त्यस लगत्तै हुने अमेरिकी निर्वाचनपछि मात्र ट्रम्पले अन्तिम निर्णय लिन सक्ने आकलन पनि अधिकारीहरूले गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)