आजको मन्त्रिपरिषद् बैठकले चारवटा निर्णय गरेको छ।
सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेको निर्णयअनुसार बैठकले विश्व बैंकसँग भूकम्पसम्बन्धी विपद् जोखिम व्यवस्थापनका लागि ‘नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड’ सम्बन्धी म्यान्डेट सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ।
त्यस्तै, बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी, जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।
बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।