'सर, म नबिल बैंकबाट बोलेको। तपाईंको केवाइसी अपडेट गर्नुपर्ने रहेछ।'
शुक्रबार बिहान करिब ११ बजे नबिल बैंकका एक ग्राहकलाई यस्तै फोन आयो।
फोन गर्ने व्यक्तिले ह्वाट्सएपबाटै केवाइसी अपडेट गर्न सकिने बताए।
त्यसको केही बेरमा नबिल बैंकको लोगो राखिएको नम्बरबाट ह्वाट्सएपमा फोन आयो।
फोन गर्ने व्यक्तिले आफूले भने अनुसार मोबाइलमा बटन थिच्न आग्रह गरे।
जब उनले मोबाइलमा 'सेयर' र 'स्विच' बटन थिच्न भने, त्यसपछि ग्राहकलाई शंका लाग्यो।
उनले बैंकमै आएर केवाइसी अपडेट गर्ने भन्दै फोन काटिदिए।
तर फोन काट्दैमा ढुक्क हुने अवस्था थिएन।
उनले नबिल बैंकको आधिकारिक सम्पर्क नम्बरमा फोन गरेर अनलाइनबाट केवाइसी अपडेट गर्ने व्यवस्था छ कि छैन भनेर बुझे।
बैंकले फोन वा अनलाइनबाट केवाइसी अपडेट गर्ने काम नभएको जबाफ दियो।
धन्न बैंकको नाममा आएको फोनमाथि शंका गरेर आधिकारिक माध्यमबाट पुष्टि गर्दा उनी सम्भावित ठगीबाट जोगिए।
तर सबै ग्राहकले यसरी शंका गर्दैनन्।
फोन गर्ने व्यक्ति बैंक कर्मचारी नै भएको विश्वासमा परेर ठगीमा पर्ने जोखिम हुन्छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई लक्ष्य गरेर यस्ता ठगीका घटना बढिरहेका छन्।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका अनुसार यस्ता ठगीसँग सम्बन्धित करिब तीन अर्ब रूपैयाँभन्दा बढीको रकमबारे अनुसन्धान भइरहेको छ।
'हिजो मात्रै गृह मन्त्रालयमा भएको बैठकमा हामीले यसबारे जानकारी पायौं। ठगीमा संलग्नहरूले ६० सेकेन्डमै तीनवटासम्म बैंकमा पैसा सार्न सकिरहेका रहेछन्, त्यो पनि बंगलादेशको कुनै ठाउँमा बसेर,' कोइरालाले भने।
उनका अनुसार यस्ता घटना बढेपछि गृह मन्त्रालयको समन्वयमा ठगी नियन्त्रणका लागि सम्बन्धित पक्षको सहभागितामा समूह समेत गठन गरिएको छ।
बैंकको नाममा फोन आउँदैमा विश्वास नगर्नुहोस्
बैंकको नाम र लोगो प्रयोग गरेर ग्राहकलाई विश्वासमा लिने प्रयास ठगीको माध्यम बन्न सक्छ।
केवाइसी अपडेट भन्दै फोन गर्ने, ह्वाट्सएपमा सम्पर्क गर्ने र त्यसपछि मोबाइलमा विभिन्न काम गर्न लगाउने गतिविधिप्रति ग्राहक सचेत हुन आवश्यक छ।
केवाइसी भनेको ग्राहकको पहिचानसम्बन्धी विवरण हो। बैंकिङ सेवा सञ्चालन क्रममा यस्तो विवरण अपडेट गर्नु नियमित प्रक्रिया भए पनि यही प्रक्रियालाई बहाना बनाएर ठगी गर्ने प्रयास हुन सक्छ।
त्यसैले बैंकबाट फोन आएको भनिएकै आधारमा विश्वास गर्न हुँदैन। खासगरी अपरिचित व्यक्तिले मोबाइलको स्क्रिन साझा गर्न, कुनै बटन थिच्न, गोप्य संकेत दिन वा बैंक खातासम्बन्धी संवेदनशील विवरण मागेमा सतर्क हुनुपर्छ।
मोबाइलमा देखिने 'सेयर' वा अन्य बटनको काम नबुझी थिच्दा खातामा रहेको रकम जोखिममा पर्न सक्छ।
यस्तो फोन आए कुराकानी बीचमै रोकेर बैंकको आधिकारिक सम्पर्क नम्बरमा फोन गरी पुष्टि गर्नुपर्ने नबिल बैंकका सहप्रवक्ता कृष्ण सुवेदी बताउँछन्।
फोन गर्ने व्यक्तिले दिएको नम्बर वा लिंक प्रयोग गर्नुभन्दा बैंकको आधिकारिक वेबसाइटबाट सम्पर्क विवरण लिनु सुरक्षित हुने उनको भनाइ छ।
ओटिपी मागेर पनि ठगी
नबिल बैंकका सहप्रवक्ता सुवेदीका अनुसार पछिल्लो समय ठगीमा संलग्न व्यक्तिहरूले ग्राहकलाई प्रत्यक्ष सम्पर्कमा आउन लगाएर ओटिपी माग्ने गरेका छन्।
'अहिले स्क्यामरहरूले यसरी लाइभमा आउन भनेर ओटिपी नम्बर माग्ने र ग्राहकलाई ठग्ने घटना बढेको छ। ग्राहकले बुझ्नुपर्छ, यसरी ओटिपी नम्बर माग्ने काम बैंकले गर्दैन,' उनले भने।
ओटिपी भनेको मोबाइल नम्बर वा इमेलमा आउने र एक पटक मात्र प्रयोग गर्न मिल्ने अस्थायी सुरक्षा संकेत हो। डिजिटल कारोबार वा खातामा प्रवेश गर्दा पहिचान पुष्टि गर्न यसको प्रयोग गरिन्छ। यस्तो संकेत अरूलाई दिँदा आफ्नो खातामा अनधिकृत पहुँच पुग्न सक्छ।
सुवेदीले बैंकको नाममा आउने शंकास्पद फोन वा सन्देशमा विश्वास नगर्न र आवश्यक परे बैंकको आधिकारिक ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर बुझ्न आग्रह गरेका छन्।
बैंकको नाम लिएको फोन, आधिकारिक लोगो राखिएको ह्वाट्सएप खाता वा बैंककै कर्मचारीजस्तो सुनिने आवाजले मात्र फोन गर्ने व्यक्ति वास्तविक बैंक कर्मचारी हो भन्ने पुष्टि गर्दैन।
त्यसैले केवाइसी अपडेट गर्ने बहानामा मोबाइलमा केही गर्न लगाइए, ओटिपी मागिए वा गोप्य विवरण सोधिए कुनै पनि निर्देशन पालना नगरी बैंकको आधिकारिक माध्यमबाट पुष्टि गर्नु नै सुरक्षित उपाय भएको उनको भनाइ छ।