नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल आजको बैठकमा सहभागी भएनन्।
गएको सोमबार छुट्टै अभियान घोषणा गरेका झलनाथ शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा उनी अनुपस्थित भएका हुन्।
खनालले सम्पूर्ण कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध बनाउने उद्धेश्य बताउँदै समाजवादी जागरण अभियान घोषणा गरेका थिए।
झलनाथले पार्टीभित्रबाटै छुट्टै अभियान घोषणा गरेको विषयमा बैठकमा छलफल भयो कि भएन भनेर हामीले प्रवक्ता प्रकाश ज्वालालाई सोधेका छौं।
उनका अनुसार वरिष्ठ नेता खनालले अभियान घोषणा गरेपछि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका थिए।
छलफलपश्चात पार्टीको बैठकमा नेता खनाल उपस्थित हुने सल्लाह पनि भएको थियो।
‘उहाँ बिरामी पर्नुभएछ। त्यसकारण उपस्थित हुन सक्नुभएन,’ प्रवक्ता ज्वालाले भने।
सम्बन्धित व्यक्ति अनुपस्थित भएका कारण नेता खनालले घोषणा गरेको अभियानबारे छलफल नभएको नेता ज्वालाले बताए।
‘उहाँ उपस्थित भएको बैठकमा उहाँका कुराहरू सुनेर छलफल गर्ने टुंगो भयो। त्यसकारण त्यसबारे थप छलफल भएन। उहाँ बैठकमा उपस्थित भएर उहाँले त्यस विषयमा बताएपछि बल्ल छलफल गर्न सकिने भयो,’ उनले भने।