एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूको नाम एकतर्फी रूपमा प्रस्ताव गर्न खोजेपछि नेताहरूले त्यसको विरोध गरेका छन्।
शुक्रबारको स्थायी कमिटी बैठकमा एमाले अध्यक्ष ओलीले नामावली पढेर सुनाउने तयारी गरे पनि स्थायी कमिटी सदस्यहरूले पहिले बोल्न समय मागेका थिए।
उनीहरूले बोल्न समय मागेपछि ओलीले अरूलाई बोल्न दिएका थिए।
बैठकमा वरिष्ठ नेता विद्या भण्डारी, उपाध्यक्षहरू रघु पन्त, पृथ्वीसुब्बा गुरूङ र गोकर्ण विष्ट, उपमहासचिव रघुवीर महासेठ तथा सचिवहरू हिक्मत कार्की र राजन भट्टराई एवं स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले आफ्ना धारणा राखेका थिए।
बैठकमा बोल्ने नेताहरूले सिधै नाम प्रस्ताव गर्दा विवाद आउन सक्ने भएकाले पहिले निश्चित मापदण्ड बनाएर मात्र स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूको चयन गर्नुपर्ने धारणा राखेका थिए।
'निश्चित मापदण्ड बनाएर मात्र कमिटीमा नाम प्रस्ताव गर्न भनिएको छ। पहिले नै व्यक्तिको नाममा हुन्छ–हुँदैन भन्दा राम्रो सन्देश जाँदैन भन्ने धारणा आएको छ,' एक स्थायी कमिटी सदस्यले सेतोपाटीसँग भने, 'पार्टी एकलौटी तरिकाले चलाएर हुँदैन। सहमति र सम्मानजनक ढंगले जिम्मेवारी बाँडफाँट हुनुपर्छ भनेर भनेका छौं।'
नाम प्रस्ताव गर्न खोजे पनि कसको नाम थियो भन्नेबारे केही जानकारी नभएको ती नेताले बताए।
बैठकमा बोल्ने नेताहरूले ओलीले आलोचना नसुन्ने र आफ्नै तरिकाले एकपक्षीय ढंगले पार्टी चलाउन खोजेको भन्दै त्यसो नगर्नसमेत भनेका थिए।
बैठकमा वरिष्ठ नेता विद्या भण्डारीले पार्टीलाई प्राविधिक रूपमा भन्दा पनि विचार र निश्चित मापदण्डका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिएकी थिइन्।
उनले संख्याका आधारमा पार्टी नचलाउनसमेत भनेकी थिइन्।