नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि शुक्रबार भएको निर्वाचनमा ७ हजार ३९ मत खसेको छ।
शुक्रबार बिहान सुरू भएको मतदान राती १० बजे मात्रै सकिएको थियो। निर्वाचन समितिले मतदानको समय पटक पटक थप्दा मतदान राती १० बजे मात्र सकिएको हो।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ मत खसेको छ।
कांग्रेसका नवनिर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सेतोपाटीलाई दिएको जानकारी अनुसार सभापति पदको मतगणना अहिले केहीबेरमै सुरू गर्ने तयारी निर्वाचन समितिले गरेको छ।
कांग्रेस सभापतिमा हालका सभापति गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन्। अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मत गणना सभापतिको सकिएपछि मात्रै सुरु गरिने भएको छ।