नेपाली कांग्रेसका नवनिर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापतिमा निर्वाचित गगन थापालाई नयाँ यात्राका लागि शुभकामना दिएका छन्।
उनले थापालाई आफू साथमा रहेको विश्वास दिलाउँदै देशलाई गन्तव्यमा पुर्याउन धेरै काम गर्न बाँकी रहेको बताएका छन्।
शर्माले सामाजिक सञ्जालमार्फत थापालाई शुभकामना दिँदै लेखेका छन्, ‘लु ब्रदर– बलियो कमान्डका लागि शुभकामना !’
उनले नेतृत्व परिवर्तनलाई लक्ष्य प्राप्तिका रूपमा नभई यात्राको सुरुवातका रूपमा अर्थ्याएका छन्।
‘यात्राको शुरूवात हो, लक्ष्यको प्राप्ति होइन !’ शर्माले लेखेका छन्, ‘हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्याउनु छ देशलाई।’
उनले नयाँ यात्रामा अनेक कठिनाइ आउने उल्लेख गर्दै तिनको सामना संयमका साथ गर्नुपर्ने बताएका छन्। फरक मत र विचार भएका व्यक्तिहरूलाई जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
‘अफ्ठ्यारा आउँछन्, सामना गर्नुछ संयमले। जोड्नु छ भिन्न मत र मनहरू,’ शर्माले लेखेका छन्।
उनले कांग्रेसले विगतका गौरवलाई पछ्याउँदै विगतका कमजोरी सच्याउनुपर्नेमा पनि जोड दिएका छन्।
इतिहासप्रति इमानदार रहँदै देशको समुन्नतिलाई सम्भव बनाउनुपर्ने उनको भनाइ छ।
‘पछ्याउनु छ विगतका गौरव, सच्याउनु छ कमजोरी। इमानदार रहनुछ इतिहासप्रति, सम्भव तुल्याउनु छ समुन्नति,’ शर्माले लेखेका छन्।
शर्माले लक्ष्य प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्दै आफू गगनको साथमा रहेको सन्देश पनि दिएका छन्।
‘हामीले सक्नुपर्छ र सक्नेछौं,’ उनले लेखेका छन्, ‘अपार विश्वास र दृढ साथका साथ, उभिएको छु साथमा, लामबद्ध छौँ साथमा।’
१५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्।
सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन्।
खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्।