विद्यार्थी समूह तथा 'कक्रोच जनता पार्टी' (सिजेपी) नामको युवा आन्दोलनले गत जुलाईमा भारतको राजधानी दिल्लीस्थित जन्तरमन्तरमा ३४ दिनसम्म प्रदर्शन गरेको थियो।
राष्ट्रिय मेडिकल प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहिएको विषयमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै सुरु भएको त्यो आन्दोलन प्रधानले राजीनामा दिएपछि पनि केही माग पूरा नभएको भन्दै जारी राखिएको थियो।
त्यतिबेला परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थी र परीक्षार्थीले विरोध गरेका थिए। सिजेपीले पनि शिक्षामन्त्रीको राजीनामालाई मुख्य माग बनाएको थियो।
प्रधानले राजीनामा दिए पनि विद्यार्थीमाथि चलाइएका मुद्दा फिर्ता, हिरासतमा रहेकाहरूलाई रिहा गर्नुपर्ने र घाइतेलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर सिजेपी आन्दोलनमै थियो।
सिजेपी शनिबारदेखि जन्तरमन्तर २.० घोषणा गरेको छ।
यसपालिको विषय निर्वाचन आयोग हो। उनीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेको छ।
मतदाता नामावली पुनरावलोकनमा अनियमितता भएको र त्यसबाट सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्न सक्ने सिजेपीको आरोप छ।
त्यसकारण शनिबार जन्तरमन्तरमा ठूलो प्रदर्शन गर्ने सिजेपीको योजना थियो।
तर प्रदर्शनस्थलमा पुग्नुअघि नै पार्टीका मुख्य नेता अभिजित दीप्केसहित चीन जना र चर्चित युट्युबर ध्रुव राठी लगायतलाई पक्राउ गरिसकेको छ।
दिल्लीमा सुरक्षा व्यवस्था कडा पारियो, मेट्रो र रेल सेवामा प्रतिबन्ध लगाइयो र प्रदर्शनकारीसँगै केही पत्रकार तथा वकिललाई समेत हिरासतमा लिइएको छ।
किन माग्यो ज्ञानेश कुमारको राजीनमा?
सिजेपीले ज्ञानेश कुमारको राजीनामा माग्नुको मुख्य कारण निर्वाचन आयोगले अघि बढाएको मतदाता नामावलीको विशेष सघन पुनरावलोकन अर्थात् एसआइआर प्रक्रिया हो।
आयोगले मतदाता सूचीबाट दोहोरो नाम, मृत्यु भइसकेका व्यक्तिका नाम र अयोग्य मतदाताका विवरण हटाएर सूची अद्यावधिक गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाएको बताउँदै आएको छ।
तर विपक्षी दल र सिजेपीजस्ता अभियानी समूहले यसमा प्रश्न उठाएका छन्। उनीहरूका अनुसार आवश्यक कागजात जुटाउन नसक्ने गरिब, आप्रवासी कामदार र बसाइँसराइ गरिरहने नागरिकको नाम मतदाता सूचीबाट हट्न सक्छ।
त्यसबाट भाजपालाई चुनावमा फाइदा पुग्न सक्ने उनीहरूको आशंका छ। आयोग र भाजपाले भने मतदाता सूचीमा हेरफेर गरेर सत्तारूढ दललाई फाइदा पुर्याइएको आरोप अस्वीकार गर्दै आएका छन्।
यो विवादलाई थप चर्चामा ल्याउने एउटा कारण इन्डियन एक्सप्रेस को अनुसन्धानात्मक समाचार हो।
उक्त पत्रिकाले निर्वाचन आयुक्त सुखबीर सिंह सन्धु र विवेक जोशीले एसआइआरसँग सम्बन्धित निर्णय तथा प्रक्रियामा १० महिनाभित्र कम्तीमा १४ पटक आपत्ति जनाएको लेखेको थियो।
सिजेपीका संस्थापक अभिजित दीपकेले सन् २०२४ यता मतदाता सूचीबाट करिब १३ करोड नाम हटाइएको दाबी गरेका छन्।
तर प्रारम्भिक मतदाता सूचीबाट नाम हट्नुको अर्थ ती सबैको मतदान अधिकार स्थायी रूपमा खोसिएको भन्ने होइन। नाम हटेकोमा दाबी र उजुरी दिन तथा आवश्यक प्रक्रिया पूरा गरेर पुनः समावेश हुन सक्ने व्यवस्था छ।
यस विषयमा विपक्षी दलहरूले पनि निर्वाचन आयोगविरुद्ध आवाज उठाउँदै आएका छन्। मंगलबार विपक्षी गठबन्धन ‘इन्डिया’ का करिब ३०० सांसद तथा नेताहरूले नयाँ दिल्लीस्थित निर्वाचन आयोगको कार्यालयतर्फ मार्च गरेका थिए।
प्रहरीले उनीहरूलाई रोकेको थियो र राहुल गान्धी, प्रियंका गान्धीलगायत केही नेताहरूलाई केही समय नियन्त्रणमा लिएको समाचार आएको थियो। विपक्षीहरूले एसआइआर प्रक्रिया फिर्ता लिन र मुख्य निर्वाचन आयुक्तले राजीनामा दिनुपर्ने माग गरेका थिए।
सिजेपीले पनि भारतका विभिन्न ठाउँमा प्रदर्शन र सार्वजनिक वक्तव्यमार्फत यही माग उठाउँदै आएको थियो।
अक्टोबर २ मा मुम्बईमा प्रदर्शन गरेको पार्टीले माग पूरा नभए अक्टोबर १० मा दिल्लीको जन्तरमन्तरमा ठूलो प्रदर्शन गर्ने घोषणा गरेको थियो।
प्रदर्शनअघि नै मुख्य नेता पक्राउ
शनिबार बिहान मुम्बईबाट दिल्ली पुगेका सिजेपीका संस्थापक अभिजित दीपके, सहसंयोजक सौरभ दास र आशुतोष रांकालाई विमानस्थलमा विमानभित्रैबाट नियन्त्रणमा लिइएको पार्टीले जनाएको छ।
एनडिटिभीका अनुसार, दिल्ली प्रहरी विमान अवतरण भएपछि विमानभित्र प्रवेश गरेको थियो। दीपकेले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेको भिडिओमा प्रहरी अधिकारीहरू विमानभित्र प्रवेश गरेर उनीहरूलाई नियन्त्रणमा लिँदै गरेको देखिएको थियो।
प्रहरीले आफूहरूलाई विमानबाट बाहिर निस्कन पनि नदिएको भन्दै सिजेपीका नेताहरूले आपत्ति जनाएका थिए।
सिजेपीले आफ्ना तीनै नेतालाई हिरासतमा लिइएको भन्दै यसलाई मानिसहरूको आवतजावत गर्ने स्वतन्त्रताको उल्लंघन भनेको छ। पार्टीले उनीहरूलाई तत्काल र बिनासर्त रिहा गर्न माग गरेको छ।
प्रदर्शनमा सहभागी हुन खोजिरहेका अरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको खबर छ। एनडिटिभीका अनुसार, शुक्रबार रातिदेखि शनिबार बिहानसम्म दिल्लीका विभिन्न ठाउँबाट ४०० भन्दा बढी शंकास्पद प्रदर्शनकारीलाई हिरासतमा लिइएको थियो।
यसअघि चर्चित युट्युबर ध्रुव राठी र सिजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको थियो। दिल्ली विश्वविद्यालय विद्यार्थी संघका पूर्वअध्यक्ष रौनक खत्रीले पनि आफूलाई प्रहरीले हिरासतमा लिएको दाबी गरेका थिए।
पक्राउ पर्न सक्ने अनुमान गरेरै बनाएका थिए भिडिओ
मुख्य नेता पक्राउ परेपछि पनि आन्दोलन रोक्ने पक्षमा सिजेपी देखिँदैन।
पार्टीका संस्थापक दीपकेले पक्राउ पर्न सक्ने अनुमान गरेर अघिल्लो रात नै भिडिओ रेकर्ड गरेका थिए। हिन्दुस्तान टाइम्स को प्रत्यक्ष अपडेटअनुसार, दीपकेले आफू, सौरभ दास र आशुतोष रांका हिरासतमा रहेसम्म पार्टीका संगठन प्रमुख अजिंक्य शिन्देले जन्तरमन्तरको प्रदर्शनको नेतृत्व गर्ने बताएका छन्।
यसले सिजेपीले नेतृत्व पक्राउ परे पनि प्रदर्शन अघि बढाउने तयारी गरेको देखाउँछ। तर प्रदर्शनस्थलमा कति मानिस पुगेका छन् र उनीहरूलाई प्रहरीले कसरी व्यवस्थापन गरिरहेको छ भन्नेबारे उपलब्ध समाचारमा पूर्ण विवरण छैन।
प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका राष्ट्रवादी कांग्रेस पार्टी (शरदचन्द्र पवार) का प्रवक्ता अनिश गावान्डेले पनि प्रहरीको व्यवहारप्रति चिन्ता व्यक्त गरेका थिए। हिन्दुस्तान टाइम्स मा उद्धृत उनका अनुसार, पक्राउ परेका नेताहरू उनीसँगै एउटै विमानमा थिए। प्रहरीले विमानभित्रै प्रवेश गरेर उनीहरूलाई लगेपछि अन्य यात्रुलाई समेत असुविधा भएको उनले बताएका थिए।
“हामी आशा गर्छौं, प्रहरीले अत्यधिक बल प्रयोग गर्नेछैन। देशका युवालाई अपराधीलाई जस्तो व्यवहार नगरी समान नागरिकका रूपमा व्यवहार गर्नेछ,” गावान्डेले भनेका थिए।
दिल्लीमा व्यापक सुरक्षा कडाइ
प्रदर्शन रोक्न दिल्लीमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ। हिन्दुस्तान टाइम्स का अनुसार, दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र प्रहरी बलका गरी ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। जन्तरमन्तर पुग्ने सडकमा अवरोधक राखिएका छन् भने केही ठाउँमा गाडी रोक्न प्रयोग गरिने काँडेदार अवरोधसमेत राखिएको छ।
दिल्ली प्रहरीले शनिबार भीड व्यवस्थापनका लागि १५ हजारभन्दा बढी प्रहरी परिचालन गरेको र केन्द्रीय सुरक्षा बलका करिब २६ हजार जवान दिल्लीमा रहने जनाएको छ।
प्रदर्शनलाई ध्यानमा राखेर मुख्य प्रवेश तथा निकास बिन्दुमा माइकबाट हिन्दी र अंग्रेजीमा सूचना दिँदै भेला, जुलुस र सडक अवरुद्ध गर्न निषेध गरिएको बताइएको छ।
यसको असर सार्वजनिक यातायातमा पनि परेको छ।
हिन्दुस्तान टाइम्स का अनुसार, दिल्ली मेट्रो रेल कर्पोरेसनले सुरुमा शुक्रबार राति ९ बजेदेखिशशनिबारसम्म ५७ वटा मेट्रो स्टेसनका प्रवेश र निकास बन्द गर्ने सूचना दिएको थियो। पछि सूची घटाएर ४५ स्टेसनमा सीमित गरिएको थियो।
रेलवेले पनि शनिबार बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म नयाँदिल्ली र हजरत निजामुद्दिन स्टेसनमा आइपुग्ने तालिका भएका मेल तथा एक्सप्रेस रेल रद्द गरेको छ।
प्रदर्शनका कारण सडकमा अत्यधिक जाम हुन सक्ने आशंकामा यस्तो निर्णय गरिएको समाचारमा उल्लेख छ।
पत्रकार र वकिल पनि हिरासतमा
प्रदर्शनका क्रममा प्रदर्शनकारीसँगै केही पत्रकारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको छ। न्यूजलन्ड्री, स्क्रोल डट इन र नवभारत टाइम्स सँग आबद्ध पत्रकारहरू हिरासतमा परेको समाचार आएको छ।
न्यूजलन्ड्रीले आफ्नो आधिकारिक वक्तव्यमा पत्रकारहरूले आफूहरू सञ्चारमाध्यमबाट आएको बताए पनि प्रहरीले “यहाँ कुनै मिडिया छैन” भनेको र उनीहरूका फोनसमेत लिएको दाबी गरेको छ।
करिब ३० जनालाई एउटै बसमा राखिएको र उनीहरूमा प्रदर्शनकारी तथा पत्रकार दुवै रहेको संस्थाले जनाएको थियो।
स्क्रोल डट इनले पनि आफ्नो एक पत्रकारलाई जन्तरमन्तरमा नभई आईटीओ नजिकैबाट नियन्त्रणमा लिइएको बताएको थियो। प्रेस परिचयपत्र देखाउँदा पनि उनलाई भ्यानमा राखेर लगिएको संस्थाको दाबी थियो। नवभारत टाइम्सका सम्पादक आशीष पाण्डेले आफ्ना दुई पत्रकारलाई नियन्त्रणमा लिइएको बताएका थिए। पछि उनीहरू रिहा भएको उनले जानकारी दिएका थिए।
यसैबीच सर्वोच्च अदालत नजिक र वकिलहरूका च्याम्बर आसपासबाट पनि अधिवक्ताहरूलाई हिरासतमा लिइएको बिबिसी हिन्दीले जनाएको छ।
बार एन्ड बेन्च का अनुसार, कम्तीमा चार जना अधिवक्ता पक्राउ परेका थिए। वकिलहरूबीच फैलाइएको सन्देशमा करिब १०० अधिवक्तालाई हिरासतमा लिएर यमुना स्पोर्ट्स कम्प्लेक्स लगिएको दाबीसमेत गरिएको थियो। तर पक्राउ परेका वकिलको कुल संख्या स्वतन्त्र रूपमा पुष्टि भएको थिएन।
भारतको सर्वोच्च अदालत बार एसोसिएसनले यस विषयमा प्रधानन्यायाधीशसँग हस्तक्षेप मागेको थियो। त्यसपछि प्रधानन्यायाधीशले सम्बन्धित अधिकारीलाई हिरासतमा लिइएका वकिलहरूलाई रिहा गर्न भनेको समाचारमा उल्लेख छ।
अब प्रदर्शनको नेतृत्व कसले गर्दैछ?
सिजेपीले ज्ञानेश कुमारको राजीनामा माग्दै थालेको अभियान अहिले मतदाता सूचीको विवादमा मात्रै सीमित छैन।
प्रदर्शन गर्न पाउने अधिकार, प्रहरीको व्यवहार र पत्रकार तथा वकिलमाथिको कारबाही पनि विवादका विषय बनेका छन्।
मुख्य नेता पक्राउ परेपछि पनि प्रदर्शन जारी राख्ने सिजेपीको तयारी छ।
दीपकेले अघिल्लो रात रेकर्ड गरेको सन्देशअनुसार अजिंक्य शिन्देले आन्दोलनको नेतृत्व गर्नेछन्। तर प्रहरीले प्रदर्शनको अनुमति अस्वीकार गरेको र जन्तरमन्तर प्रवेशमा प्रतिबन्ध लगाएको अवस्थामा प्रदर्शनकारी कति संख्यामा भेला हुन सक्छन् भन्ने स्पष्ट छैन।