बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा क्षति पुर्याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको घटनाप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले दुःख व्यक्त गरेका छन्।
थापाले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। उनले आफू सुरक्षित रहँदै विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुट्न आग्रह गरेका हुन्।
बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न पनि उनले अनुरोध गरेका छन्।
महाधिवेशन सकेर फर्किरहेका पार्टीका नेता तथा कार्यकर्तालाई सुरक्षित रूपमा घर फर्कन र बाढी प्रभावित क्षेत्रका पार्टीका साथीहरूलाई तत्काल उद्धार कार्यमा जुट्न सभापति थापाले आग्रह गरेका छन्।
कांग्रेसले बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गरेको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको अपिलमा विपद्को सामना गर्न सबैलाई एकताबद्ध भएर जुट्न आह्वान गरिएको छ।