नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला महामन्त्री पदको मतगणनामा डा. सुनीलकुमार शर्माले दोस्रो स्थानमा रहेका उदयशमशेर राणासँगको मतान्तर घटाएका छन्।
कुल खसेको ७ हजार ४३ मतमध्ये ३ हजार ४३५ मत गणना हुँदा राणा १ हजार १५९ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् भने शर्माले ९३४ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। उनीहरूबीच २२५ मतको अन्तर छ।
अघिल्लो मतगणनाको नतिजामा राणा ७८६ मतसहित दोस्रो स्थानमै थिए भने उनलाई अमरसिंह पुन मगरले ६९५ मत ल्याएर पछ्याइरहेका थिए। त्यति बेला शर्मा ५२६ मतसहित चौथो स्थानमा थिए।
अहिले पछिल्लो गणनामा शर्मा पुनलाई उछिनेर तेस्रो स्थानमा उक्लिएका हुन्।
तेस्रोबाट चौथो स्थानमा झरेका पुनले ८१९ मत ल्याएका छन्।
खुला महामन्त्रीमा प्रदीप पौडेलले भने फराकिलो अग्रता कायम राखेका छन्। उनले २ हजार ५५ मत पाएका छन्। उनी दोस्रो स्थानका राणाभन्दा ८९६ मतले अगाडि छन्।
त्यस्तै, गुरूराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन्।
खुलातर्फ दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। हालसम्मको मतगणनामा पौडेल पहिलो र राणा दोस्रो स्थानमा छन्। शर्माले भने राणासँगको मतान्तर घटाउँदै प्रतिस्पर्धा कसिलो बनाएका छन्।