भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेले भारतीय पर्यटक बढाउन विभिन्न योजना अघि सारे पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरहरूबाट सिधा उडान गराउने विषयलाई आफ्नो कार्ययोजनामा समेटेका छैनन्।
उनले संसदीय सुनुवाइ समितिमा पेस गरेको कार्ययोजनामा लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयरलाइन्सबाट नियमित उडान गराउन पहल गर्ने उल्लेख गरेका छन्।
तर काठमाडौंपछि भारतीय पर्यटकको प्रमुख गन्तव्य रहेको पोखरामा भारतीय सहरहरूबाट सिधा उडान गराउने विषय भने प्राथमिकतामा परेको देखिँदैन।
उनको कार्ययोजनामै काठमाडौंपछि धेरै भारतीय पर्यटक आउने ठाउँ पोखरा भएको उल्लेख छ।
सेतोपाटीले प्राप्त गरेको कार्ययोजनामा पाण्डेले नेपालका लागि थप हवाई प्रवेश मार्ग (एअर इन्ट्री रूट) उपलब्ध गराउन जोडदार पहल गर्ने उल्लेख गरेका छन्। तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई भारतीय सहरहरूसँग जोड्ने विषयमा कुनै योजना अघि सारेका छैनन्।
चिनियाँ ऋणबाट निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतबाट सिधा उडान सञ्चालन गर्ने विषय लामो समयदेखि उठ्दै आएको छ। नेपालले दिल्ली, मुम्बई लगायत भारतीय सहरहरूबाट पोखरामा सिधा उडानका लागि पहल गर्दै आएको भए पनि भारत सकारात्मक देखिएको छैन।
पोखराका पर्यटन व्यवसायीले नेपालका लागि निवर्तमान भारतीय राजदूत नवीन श्रीवास्तवलाई पोखरामा भव्य स्वागत गर्दै भारतीय सहरहरूबाट सिधा उडानका लागि पहल गरिदिन आग्रह गरेका थिए।
तर श्रीवास्तवले भारतीय पर्यटकहरू गाडीमा यात्रा गर्न रूचाउने भन्दै सडक पूर्वाधार सुधारमा जोड दिएका थिए।
पाण्डेको कार्ययोजनामा नेपाल र भारतका धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने विषयले पनि प्राथमिकता पाएको छ।
'लुम्बिनी, बोधगया र कुशीनगर–सारनाथको संयुक्त बजारीकरण गर्ने तथा जनकपुर–अयोध्या रेल लिंकलाई उच्च प्राथमिकता दिइनेछ,' पाण्डेको कार्यपत्रमा भनिएको छ।
उनले सन् २०२५ मा २ लाख ९२ हजार भारतीय पर्यटक नेपाल आएको तथ्यांक प्रस्तुत गरेका छन्। जबकि त्यसै वर्ष ५ लाख ३१ हजार भारतीय पर्यटक श्रीलंका पुगेको तथ्यांक कार्ययोजनामा उल्लेख छ।
भारतसँग खुला सीमा, भिसा नचाहिने व्यवस्था, छोटो हवाई दूरी र भारतका धेरै भूभागको तुलनामा चिसो मौसम हुँदाहुँदै नेपालले अपेक्षित संख्यामा भारतीय पर्यटक भित्र्याउन नसकेको पाण्डेको विश्लेषण छ।
उनले काठमाडौंमा मात्र नभई पोखरा, चितवन, भैरहवा र मुक्तिनाथजस्ता गन्तव्यमा पनि भारतीय पर्यटक बढिरहेको उल्लेख गरेका छन्।
तर पर्यटक बढिरहेको उल्लेख गरेका यी गन्तव्यमध्ये पोखरालाई भारतीय सहरसँग सिधा हवाई सम्पर्कमा जोड्ने विषय उनको कार्ययोजनामा छुटेको छ।
भारतीय पर्यटकको संख्या बढाउन पाण्डेले अर्को प्रस्ताव पनि अघि सारेका छन्।
भारत सरकारले आफ्ना कर्मचारीलाई देशभित्र भ्रमण गर्दा उपलब्ध गराउने 'लिभ ट्राभल कन्सेसन' (एलटिसी) सुविधा नेपाल भ्रमणका लागि पनि लागू गराउन पहल गर्ने उनको योजना छ।
यो सुविधाअन्तर्गत भारतीय सरकारी कर्मचारी र परिवारका सदस्यले निश्चित नियम अनुसार देशभित्र भ्रमण गर्दा यात्रा खर्चको शोधभर्ना पाउँछन्।
भारतीय कर्मचारीहरूले नेपाल भ्रमण गर्दा पनि यस्तो सुविधा पाउने व्यवस्था भए नेपाल आउने भारतीय पर्यटकको संख्या बढ्न सक्ने पाण्डेको अपेक्षा छ।