नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।
अन्तिम मतगणना अनुसार खुलातर्फ दुई उपसभापति र दुई महामन्त्री तथा समावेशीतर्फ एक उपसभापति र महिलातर्फ एक महामन्त्री निर्वाचित भएका हुन्।
खुला उपसभापतिमा भण्डारी ३ हजार ७३५ मतसहित निर्वाचित भएका छन्। अर्का विजयी मधु आचार्यले २ हजार ३४२ मत पाएका छन्।
प्रतिस्पर्धामा रहेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरूङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
समावेशी उपसभापतिमा विनोद चौधरी आफ्ना निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पराजित गर्दै विजयी भएका छन्।
चौधरीले १ हजार ७४५ मत पाउँदा परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन्।
अन्य प्रतिस्पर्धी फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरूङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाएका छन्।
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल ४ हजार १९४ मतसहित विजयी भएका छन्। उनी उपसभापति र महामन्त्री निर्वाचनमा सबभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारसमेत बनेका छन्।
अर्का महामन्त्री उदयशमशेर राणा २ हजार ३३० मतसहित निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी सुनिलकुमार शर्माले २ हजार २५७ मत प्राप्त गरेका छन्। राणा र शर्माबीच जम्मा ७३ मतको अन्तर छ।
खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये गुरूराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।
उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय 'डिना' ले २ हजार ८६४ मत प्राप्त गरेकी छन्। संग्रौला २५४ मतान्तरले विजयी भएकी हुन्। अर्की प्रतिस्पर्धी रीता खनालले ८०४ मत पाएकी छन्।
यसअघि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन्। उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गरेका हुन्।
त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए।
कांग्रेसले यस महाधिवेशनबाट पदाधिकारीको संख्या विस्तार गरेको छ। संशोधित विधान अनुसार पार्टीमा एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति र तीन महामन्त्री रहने व्यवस्था गरिएको छ।
चार उपसभापतिमध्ये दुई खुला, एक महिला र एक समावेशी समूहबाट निर्वाचित हुने व्यवस्था छ।
महामन्त्रीमध्ये दुई खुला र एक महिला समूहबाट निर्वाचित हुनेछन्। यसअघि कांग्रेसमा दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था थियो।
महाधिवेशनले केन्द्रीय कार्यसमितिको आकार पनि बढाएर २९७ सदस्यीय बनाएको छ।
सहमहामन्त्रीको मत गणना जारी छ।
उपसभापति र महामन्त्रीको अन्तिम मतपरिणाम
उपसभापति — खुला (२ पद)
चन्द्रकान्त भण्डारी (विजयी)— ३,७३५
मधु आचार्य (विजयी)— २,३४२
गोविन्द भट्टराई— १,७५२
सुरेन्द्रराज पाण्डे— १,६७३
धनराज गुरूङ— १,५९६
दीपक गिरी— ९२३
चन्द्रमोहन यादव— ७६०
उपसभापति — समावेशी (१ पद)
विनोद चौधरी (विजयी)— १,७४५
जीवन परियार— १,६५८
फरमुल्लाह मन्सुर— १,१४४
सीता गुरूङ— १,११२
रञ्जित कर्ण— ५६२
महामन्त्री — खुला (२ पद)
प्रदीप पौडेल (विजयी)— ४,१९४
उदयशमशेर राणा (विजयी)— २,३३०
सुनिलकुमार शर्मा— २,२५७
गुरूराज घिमिरे— १,५१३
नैनसिंह महर— १,१३४
अमरसिंह पुन मगर— १,१२५
शंकर तिवारी— १२३
सन्तोष उपाध्याय— ९७
महामन्त्री — महिला (१ पद)
डिला संग्रौला (विजयी)— ३,११८
महालक्ष्मी उपाध्याय 'डिना'— २,८६४
रीता खनाल— ८०४