नेपाली कांग्रेसको उपसभापति पदमा तीन जना निर्वाचित भएका छन्।
पुष्पा भूसाल यसअघि नै महिलातर्फ निर्विरोध उपसभापति चयन भएकी थिइन्।
खुलातर्फ २ र समावेशीतर्फ एक जना गरी तीन उपसभापति निर्वाचित भएका हुन्।
आइतबार राति सकिएको मतगणना अनुसार खुला उपसभापतिमा चन्द्र भण्डारी ३ हजार ७३५ मतसहित निर्वाचित भएका छन्।
अर्का विजयी मधु आचार्यले २ हजार ३४२ मत पाएका छन्।
खुला तर्फ प्रतिस्पर्धामा रहेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरूङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
समावेशी उपसभापतिमा विनोद चौधरी आफ्ना निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पराजित गर्दै विजयी भएका छन्।
चौधरीले १ हजार ७४५ मत पाउँदा परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन्।
अन्य प्रतिस्पर्धी फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरूङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाएका छन्।