नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका नेता गुरूराज घिमिरेले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्।
महामन्त्री पदमा १ हजार ५१३ मत प्राप्त गरेका घिमिरेले उक्त मत आफ्नो लागि विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको प्रेरणा भएको बताएका छन्।
उनले महाधिवेशनबाट निर्वाचित उपसभापति तथा महामन्त्रीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन्।
घिमिरेले हार–जित लोकतन्त्रको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै निर्वाचनको परिणामबाट विचलित नभई नयाँ ढङ्गले राजनीतिक यात्रा अघि बढाउने बताएका छन्।
अबको राजनीति फरक सोच, शैली र संस्कारका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ।
निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरणलाई प्राथमिकता दिँदै कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउन आफू निरन्तर सक्रिय रहने उनले बताएका छन्। ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो,’ घिमिरेले भनेका छन्।
घिमिरे गत पुसमा विशेष महाधिवेशनबाट महामन्त्री भएका थिए। यसपालि पनि उम्मेदवार रहेका उनी प्रदीप पौडेल र उदय शम्शेर राणासँग पराजित भएका छन्।