भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले संसदीय सुनुवाइ समितिमा भेषबहादुर थापापछि भारतका लागि कुनै पनि राजदूतले कार्यकाल पूरा गर्न नसकेको विषय उल्लेख गरेका छन्।
नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध, राजदूतको भूमिका तथा विभिन्न द्विपक्षीय मुद्दाहरूको बारेमा पनि उनले धारणा राखे।
सुनुवाइको क्रममा उनले कूटनीतिक इतिहासको तथ्य प्रस्तुत गर्दै भनेका छन्, ‘डा. भेषबहादुर थापा भएपछि दिल्लीमा नेपालको कुनै पनि राजदूतले कार्यकाल पूरा गरेको छैन। उहाँ फर्केको सन् २००३ मा र २३ वर्षमा नेपालको कुनै पनि राजदूतले कार्यकाल पूर्व रूपमा पूरा गर्न सकेको छैन। यसले पनि देखाउँछ नेपालमा कुन हदको राजनीतिक अस्थिरता छ।’
प्रस्तावित राजदूत पाण्डेले दूतावास वा राजदूतले आफ्नो छुट्टै व्यक्तिगत भिजन वा ओपिनियनभन्दा पनि परराष्ट्र मन्त्रालय र नेपाल सरकारबाट प्राप्त नीतिगत निर्देशन तथा डाइरेक्टिभलाई छिटो र छरितो ढङ्गले कार्यान्वयन गर्न प्रतिबद्ध रहने स्पष्ट पारेका थिए।
‘मेरो राजदूतको हैसियतमा, मेरो धारणा, आफ्नो धारणा, पर्सनल ओपिनियन भन्ने हुँदैन, भूमिका, दायित्व र चिन्तन सधैं नेपाल सरकारको नीति, निर्देशन र प्राथमिकतामा केन्द्रित रहनेछ,’ उनले भने।
उनले एम्बेसीको औपचारिक आवासको सट्टा सबै नेपालीको पहुँच हुने गरी 'नेपाल हाउस' स्थापना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी, नेपाल-भारतबीच रहेका विभिन्न संयन्त्र र मेकानिजमहरूको बैठक नियमित रूपमा बसाउन र तिनलाई थप क्रियाशील बनाउन राजदूतको तर्फबाट आवश्यक माहोल र क्यालेन्डर निर्माण गरी पहल गर्ने उनले बताए।