आइतबार दिउँसो दिल्लीको आरके आश्रम मेट्रो स्टेसनबाहिर प्रहरीको बाक्लो उपस्थिति थियो।
प्रदर्शन गर्न आएका युवाहरूलाई प्रहरीले धमाधम नियन्त्रणमा लिइरहेका थिए।
त्यही बेला खबर फैलियो, 'नेहा बोरा पक्राउ परिन्।'
सञ्चारकर्मीहरू त्यतैतिर दौडिए।
क्यामराका लेन्स एउटी युवतीतर्फ सोझिए।
गोलो कालो चस्मा लगाएकी ती युवतीलाई महिला प्रहरीले समातिरहेका थिए। घाँटीमा रातो कपडा बेरेकी उनी प्रहरीको नियन्त्रणबाट उम्किन खोजिरहेकी थिइन्।
तर केही बेरपछि थाहा भयो, उनी नेहा बोरा थिइनन्।
नेहाजस्तै देखिने अर्की युवती थिइन्।
त्यसो भए नेहा कहाँ थिइन् त?
त्यो बेला नेहा आरके आश्रम मेट्रो स्टेसनबाट केही टाढा कनट प्लेसमा प्रदर्शनकारीहरूसँगै दौडिरहेकी थिइन्।
प्रहरीले आन्दोलनकारीलाई लखेटिरहेका थिए।
केही समयपछि विजय चोकनजिक नेहालाई नियन्त्रणमा लिइयो।
अक्टोबर ११ को यो घटनाबारे भारतीय अखबार 'द इन्डियन एक्सप्रेस' ले विस्तृत समाचार प्रकाशित गरेको छ। त्यस दिन दुवै ठाउँबाट करिब ५० जनालाई नियन्त्रणमा लिइएको थियो।
नेहा बोरा अहिले भारतका विभिन्न ठाउँमा भइरहेका सरकारविरोधी युवा आन्दोलनको चर्चित अनुहार बनेकी छन्।
उनी सडकमा निस्किन्छिन्, प्रहरीले नियन्त्रणमा लिन्छ। केही समयमा उनी छुट्छिन्, अनि फेरि आन्दोलनमा सहभागी हुन्छिन्।
शनिबार अक्टोबर १० मा पनि यस्तै भएको थियो।
प्रहरीले प्रदर्शनकारीहरूलाई दिल्लीको जन्तरमन्तर पुग्न रोकेपछि नेहाले सामाजिक सञ्जालमा दिल्ली हाटमै भेला हुन आह्वान गरेकी थिइन्।
उनले फेसबुकमा लेखेकी थिइन्, 'आज दिल्ली हाट नै जन्तरमन्तर बन्छ।'
त्यसपछि उनी अरू प्रदर्शनकारीसँगै त्यता लागिन्। प्रहरीले उनलाई नियन्त्रणमा लियो।
उनले हिरासतबाटै भिडिओ सन्देश जारी गर्दै आफू पक्राउ परे पनि आन्दोलन नरोकिएको बताइन्।
शनिबार साँझ छुटेकी उनी आइतबार फेरि सडकमा ओर्लिएकी थिइन्।
अहिले भारतको राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनेकी नेहा केही महिना अघिसम्म विश्वविद्यालयका विद्यार्थी र वामपन्थी आन्दोलनकारीबीच मात्र परिचित थिइन्। उनको सार्वजनिक जीवन सडक आन्दोलनबाट सुरू भएको थिएन।
नेहा पहिले नाटकमा रूचि राख्थिन्। थिएटरमा अभिनय गर्थिन्। विभिन्न पात्रका जीवन र विचार बुझ्ने अभ्यास गर्थिन्।
अनि, बिस्तारै सामाजिक समस्या र राजनीतितर्फ आकर्षित भइन्।
को हुन् त यी नेहा बोरा? सेनाको परिवारमा हुर्किएकी उनी कसरी वामपन्थी विद्यार्थी संगठनको नेतृत्वमा पुगिन्?
भारतको कोलकातामा आयोजित एक कार्यक्रममा नेहा बोरा। तस्बिर: विकास रौनियार
सेनाको परिवारमा हुर्किएकी वामपन्थी नेतृ
२९ वर्षीया नेहा भारतको उत्तराखण्ड राज्यको खटिमा सहरकी हुन्। खटिमा नेपालको सीमासँग नजिक रहेको उत्तराखण्डको एउटा सहर हो। सुदूरपश्चिमको महेन्द्रनगरबाट खटिमा जम्मा २५ किलोमिटर दुरीमा पर्छ।
नेहाका बुबा भारतीय सेनामा कार्यरत थिए। सेनामा जागिर गर्ने बुबाको सरूवा भइरहने भएकाले नेहाको बाल्यकाल एउटै ठाउँमा बितेन।
उनी परिवारसँग भारतका विभिन्न सहरमा बसिन्। विभिन्न सहरको परिवेशमा हुर्किइन्, बढिन्। कहिले एउटा ठाउँको विद्यालय, कहिले अर्को ठाउँको परिवेश।
सानैदेखि ठाउँ परिवर्तन गरिरहनुपर्ने पारिवारिक परिस्थितिले आफ्नो व्यक्तित्वमा ठूलो प्रभाव पारेको नेहाले रोयटर्ससँगको अन्तर्वार्तामा बताएकी छन्।
उनको स्कुले जीवनको एउटा महत्त्वपूर्ण हिस्सा भने पश्चिम बंगालको सिलिगुडीसँग जोडिएको छ।
'एबिपी लाइभ' ले प्रकाशित गरेको प्रोफाइल अनुसार नेहाले सिलिगुडीस्थित दिल्ली पब्लिक स्कुलमा पढेकी थिइन्। त्यसपछि उच्च शिक्षाका लागि उनी दिल्ली पुगिन्।
उनले दिल्ली विश्वविद्यालयको चर्चित हिन्दु कलेजबाट समाजशास्त्रमा स्नातक गरेकी थिइन्। त्यसपछि दिल्लीकै डा. बिआर अम्बेडकर विश्वविद्यालयबाट स्नातकोत्तर गरिन्।
स्नातकोत्तरपछि उनी जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) पुगिन्।
अहिले उनी जेएनयूको स्कुल अफ आर्ट्स एन्ड एस्थेटिक्समा थिएटर तथा पर्फर्मेन्स स्टडिज विषयमा विद्यावारिधि गर्दै छिन्।
नेहाको अध्ययनको यो यात्रा हेर्दा एउटा रोचक कुरा देखिन्छ।
स्नातक तहमा समाज र सामाजिक सम्बन्ध पढेकी नेहाले पछि कला, अभिनय र प्रदर्शनमार्फत आफ्ना अनुभव कसरी अभिव्यक्त गरिन्छ भन्ने विषय रोजिन्।
उनी नाटकलाई विश्वविद्यालयमा पढिने विषयमा मात्र सीमित राख्न चाहँदिन थिइन्। त्यसैले उनी आफै थिएटरमा सक्रिय भइन्।
नाटक खेल्दाखेल्दै बदलिएको सोच
दिल्ली विश्वविद्यालयमा स्नातक पढ्दा नेहा थिएटर समूहमा आबद्ध भइन्।
एबिपी लाइभका अनुसार उनी कलेज पढ्ने क्रममा 'संगवारी' नामको थिएटर समूहसँग जोडिएकी थिइन्।
त्यो समूहसँग काम गर्दा उनी मञ्चमा हुने अभिनयसँगै सडक नाटकमा पनि सहभागी भइन्।
सडक नाटकमार्फत सामान्यतया सर्वसाधारणका समस्या, सामाजिक असमानता र अन्यायका विषय उठाइन्छन्। अभिनय गर्ने व्यक्तिले आफूले पाएको पात्रलाई विश्वसनीय बनाउन पनि प्रयास गर्छन्। त्यस क्रममा कलाकारले पात्रको दुःख, खुसी, रिस, असन्तुष्टि र सोच बुझ्नुपर्छ।
नेहाका लागि नाटकको यही पक्ष महत्त्वपूर्ण बन्यो।
रोयटर्सलाई दिएको अन्तर्वार्तामा नेहाले थिएटरले आफूभन्दा फरक जीवन बाँचिरहेका मानिसलाई बुझ्न सिकाएको बताएकी छन्।
उनले एउटा उदाहरण दिएकी छन् — कुनै पात्र वास्तविक जीवनमा भेटिएको भए उसको विचारसँग तपाईं सहमत नहुन सक्नुहुन्छ। त्यो व्यक्ति मन पनि नपर्न सक्छ। तर नाटकमा उसको भूमिका निर्वाह गर्दा उसले त्यस्तो किन सोच्छ, किन बोल्छ र किन व्यवहार गर्छ भन्ने बुझ्नुपर्छ।
नेहाका अनुसार थिएटरले उनलाई मानिसको विचार मात्र होइन, त्यस्तो विचार बन्नुको पृष्ठभूमि पनि बुझ्न सिकायो।
यही अनुभव उनको राजनीतिक यात्रासँग जोडिएको छ।
नाटकमा अरू मानिसको जीवन बुझ्ने अभ्यास गरेकी नेहाले वास्तविक समाजमा मानिसहरूबीचको असमानता र अन्यायका प्रश्न उठाउन थालिन्।
किन कसैले सहजै शिक्षा पाउँछ, कसैले पाउँदैन? किन केही मानिसका समस्या छिट्टै सुनिन्छन्, तर अरूका समस्या बेवास्ता गरिन्छन्? किन एउटै समाजमा बस्ने मानिसका अवसर र अधिकार फरक हुन्छन्?
यस्ता प्रश्नसँग उनको रूचि बढ्दै गयो।
रोयटर्ससँगको कुराकानीमा नेहाले थिएटरमा काम गर्दाको अनुभव नै सामाजिक र राजनीतिक विषयतर्फ आकर्षित हुनुको सुरूआती कारण भएको बताएकी छन्।
नेहाको शैक्षिक अध्ययन अहिले पनि त्यही विषयसँग जोडिएको छ।
जेएनयूमा थिएटर तथा पर्फर्मेन्स स्टडिजमा विद्यावारिधि गरिरहेकी नेहाको अभिनयप्रति रूचि, विश्वविद्यालयको अध्ययन र सार्वजनिक जीवन तीनैवटा एकअर्कासँग जोडिएका छन्।
व्यक्तिगत कुराकानीमा उनी शान्त स्वरमा बोल्छिन्। तर प्रदर्शनकारीको भीडमा माइक समातेपछि उनको प्रस्तुति फरक हुन्छ। उनी हातको हाउभाउ प्रयोग गर्दै हिन्दी र अंग्रेजीमा भाषण गर्छिन्।
थिएटरमा अभ्यास गरेको अभिनय र सार्वजनिक अभिव्यक्तिको अनुभवले उनको भाषण गर्ने क्षमतामा प्रभाव पारेको हुन सक्छ। तर उनी स्वयंले अभिनयकै कारण आजको राजनीतिक लोकप्रियता पाएको दाबी गरेकी छैनन्।
सडकमा विद्यार्थी देखेपछि राजनीतितर्फ आकर्षण
नेहाको राजनीतिक यात्रामा अर्को महत्त्वपूर्ण मोड सन् २०१९–२० मा आयो।
त्यस बेला भारतमा नागरिकता संशोधन कानुनविरूद्ध आन्दोलन चर्किएको थियो।
यो कानुनलाई लिएर सरकार र आलोचकबीच ठूलो विवाद थियो। आलोचकहरूले कानुनले विशेष गरी मुसलमान समुदायमाथि विभेद गर्ने आरोप लगाएका थिए। सरकारले भने उक्त आरोप अस्वीकार गरेको थियो।
देशका धेरै विश्वविद्यालयका विद्यार्थी पनि आन्दोलनमा सहभागी भए।
नेहाले आफू पढिरहेका र आफ्नै उमेर समूहका विद्यार्थी कक्षाकोठाबाट निस्किएर सडकमा प्रदर्शन गर्न थालेको देखिन्।
त्यो दृश्यले उनलाई गहिरो प्रभाव पार्यो।
उनले रोयटर्ससँगको अन्तर्वार्तामा 'पहिले किताब, चलचित्र र वृत्तचित्रमा देखेका विषय आफ्नै पुस्ताले वास्तविक जीवनमा उठाइरहेको देखेपछि आन्दोलनमा सहभागी हुने चाहना बढेको' बताएकी छन्।
यसअघि उनको रूचि थिएटर र सामाजिक विषयमा थियो। तर नागरिकता कानुनविरोधी आन्दोलनले ती विषयलाई राजनीतिक अभ्याससँग जोड्ने अवसर दियो।
अब उनी सामाजिक समस्याबारे पढ्ने, नाटक गर्ने वा छलफल गर्ने मात्र होइन, सडकमा निस्किएर आफ्नो विचार सार्वजनिक रूपमा राख्ने गतिविधिमा पनि सक्रिय भइन्।
यही क्रमले उनलाई संगठित विद्यार्थी राजनीतितर्फ पुर्यायो।

परिवारको राजनीतिक विचारभन्दा फरक बाटो
नेहाको राजनीतिक यात्राको अर्को चाखलाग्दो पक्ष उनको पारिवारिक पृष्ठभूमि हो।
बुबा भारतीय सेनामा कार्यरत थिए। नेहा भने आफूलाई स्पष्ट रूपमा वामपन्थी मान्छिन्।
उनको परिवारभित्र पनि राजनीतिक विषयमा मतभेद रहेको विवरण विभिन्न अन्तर्वार्तामा आएका छन्।
यो मतभेदबारे 'उल्लेख एनपी' नामक अनलाइनसँगको अन्तर्वार्तामा नेहालाई सोधिएको थियो — सेनाको परिवारबाट आएकी तपाईं भारतीय जनता पार्टीको विचारभन्दा ठिक उल्टो राजनीतिक धारमा कसरी पुग्नुभयो?
नेहाको जबाफ उल्लेखनीय छ।
उनले भारतीय सेना वा सैनिक परिवारलाई स्वाभाविक रूपमा भाजपाको समर्थक मान्ने धारणामाथि नै प्रश्न उठाइन्।
उनका अनुसार, सेनालाई भाजपासँग जोडेर हेर्ने राजनीतिक धारणा निर्माण गरिएको छ। तर सेनाको परिवारबाट आएको व्यक्ति अनिवार्य रूपमा एउटै राजनीतिक विचारको हुनुपर्छ भन्ने छैन।
आफ्नो वामपन्थी राजनीतितर्फको आकर्षणबारे उनले विद्यार्थी र श्रमिकले भोगिरहेका समस्या तथा आर्थिक असमानतालाई मुख्य कारण बताएकी छन्।
उनले भनेकी छन्, 'विद्यार्थी र कामदारको जीवनमा देखेका असमानता, अन्याय र कठिनाइले मेरा आँखा खोले।'
नेहाले देश चलाउन कर तिर्ने नागरिकहरू नै विभिन्न सरकारी नीतिका कारण समस्यामा परेको देखेको बताएकी छन्।
उनको प्रश्न थियो — देश र राज्यका संस्थाहरू चलाउन योगदान गर्ने नागरिकले नै दुःख पाइरहेका छन् भने उनीहरूको समस्या किन सुनिँदैन?
यही प्रश्नले आफूलाई वामपन्थी राजनीति नजिक पुर्याएको उनको भनाइ छ।
त्यस अन्तर्वार्तामा उनले अर्को एउटा घटना पनि सुनाएकी छन्।
कोलकाता जाँदै गर्दा उनको भेट सेनाबाट अवकाश पाएका केही अधिकारीसँग भएको रहेछ।
ती अधिकारीहरू नेहालाई भेट्न आए। उनीसँग बसेर कुराकानी गरे। उनले गरिरहेको कामको प्रशंसा गरे र सँगै कफी पिए।
यो प्रसंग सुनाउँदै नेहाले सैनिक पृष्ठभूमिका मानिसले वामपन्थी राजनीतिलाई समर्थन गर्नै सक्दैनन् भन्ने धारणा ठिक नभएको तर्क गरेकी छन्।
उनको बुझाइमा राजनीतिक विचार व्यक्तिको पारिवारिक पेसाले मात्र निर्धारण गर्दैन। समाजमा देखेको असमानता, आफ्नै अनुभव र मानिसहरूसँगको सम्बन्धले पनि विचार बदल्न सक्छ।
नेहाको हकमा पनि त्यस्तै भएको देखिन्छ।
सेनामा जागिर गर्ने बाबुकी छोरीबाट वामपन्थी विद्यार्थी संगठनकी अध्यक्ष बन्नु उनको जीवनमा ठूलो परिवर्तन हो। तर उनी यसलाई परिवारको पृष्ठभूमि त्यागेको भन्दा सामाजिक प्रश्नमा आफ्नै राजनीतिक धारणा बनाएको यात्राका रूपमा व्याख्या गर्छिन्।
जेएनयूले दिएको राजनीतिक ठाउँ
दिल्लीका विभिन्न विश्वविद्यालयमा पढेपछि नेहा विद्यावारिधि गर्न जेएनयू पुगेकी थिइन्।
जेएनयू भारतमा राजनीतिक बहस र विद्यार्थी आन्दोलनका लागि परिचित विश्वविद्यालय हो।
त्यहाँ वामपन्थी, दक्षिणपन्थी र अन्य राजनीतिक धारका विद्यार्थी संगठनबीच लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ।
नेहा त्यहाँ वामपन्थी विद्यार्थी संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन अर्थात् आइसासँग आबद्ध भइन्।
आइसा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) लिबरेसनसँग सम्बन्धित विद्यार्थी संगठन हो।
सन् १९९० मा स्थापना भएको आइसाले सार्वजनिक शिक्षा, विद्यार्थी अधिकार, सामाजिक न्यायका विषय अघि सारेर आन्दोलन गर्दै आएको छ।
नेहा पनि यी गतिविधिमा सक्रिय भइन्।
एबिपी लाइभका अनुसार उनले शिक्षाको निजीकरण, कलेज शुल्क वृद्धि, छात्रावाससम्बन्धी समस्या र महिला विद्यार्थीको सुरक्षाका विषयमा आवाज उठाउँदै आएकी छन्।
विभिन्न आन्दोलन र संगठनात्मक गतिविधिमा सक्रिय हुँदै उनी अन्ततः आइसाको राष्ट्रिय अध्यक्ष बनिन्।
तर संगठनको नेतृत्वमा पुगेपछि पनि उनको राजनीतिक दृष्टिकोण विद्यार्थीको दैनिक समस्यामा मात्रै सीमित रहेन।
उनी शिक्षा नीतिलाई समाजको ठूलो आर्थिक र राजनीतिक संरचनासँग जोडेर हेर्छिन्।
उनको बुझाइमा शिक्षामा शुल्क वृद्धि हुनु वा परीक्षा प्रणाली बिग्रिनु विद्यार्थीका मात्रै समस्या होइनन्। यस्ता विषयले सामान्य परिवारका छोराछोरीलाई अवसर पाउने वा नपाउने अवस्थासँग पनि सम्बन्ध राख्छन्।
यही विचारले उनलाई विश्वविद्यालयको राजनीतिबाट देशव्यापी विद्यार्थी आन्दोलनसम्म पुर्याएको छ।

२३ दिनको अनसनले दिलाएको राष्ट्रिय चर्चा
यस वर्ष जुलाईमा विद्यार्थीहरूले परीक्षा प्रणालीमा अनियमितता र प्रश्नपत्र चुहावटविरूद्ध दिल्लीको जन्तरमन्तरमा आन्दोलन थाले।
मेडिकल अध्ययन प्रवेशका लागि लिइने प्रवेश परीक्षा 'नीट' सहित विभिन्न प्रतियोगितात्मक परीक्षामा भएको भनिएका अनियमितताले ठूलो संख्यामा विद्यार्थी र रोजगारीका लागि परीक्षा तयारी गरिरहेका युवालाई आक्रोशित बनाएको थियो।
आन्दोलनकारीले शिक्षा प्रणालीमा सुधार र तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेका थिए।
नेहा पनि आन्दोलनमा सहभागी भइन्।
उनले शिक्षा तथा वातावरण अभियानी सोनम वाङचुक र अरू विद्यार्थी नेताहरूसँगै अनसन सुरू गरिन्।
अनसन २३ दिन चल्यो।
उल्लेख एनपीसँगको अन्तर्वार्ता अनुसार अनसन क्रममा नेहाको तौल करिब साढे सात किलो घटेको थियो।
अनसनले उनलाई शारीरिक रूपमा कमजोर बनायो। तर देशभरका सञ्चारमाध्यमले उनको गतिविधि पछ्याउन थाले।
जन्तरमन्तरमा नेहाले दिएका भाषण सामाजिक सञ्जालमा फैलिन थाले।
यसअघि विश्वविद्यालय र विद्यार्थी आन्दोलनको सीमित वृत्तमा चिनिएकी उनी विस्तारै राष्ट्रिय चर्चामा आउन थालिन्।
तर नेहाले उक्त आन्दोलनलाई शिक्षामन्त्रीको राजीनामामा मात्र सीमित राख्न नहुने तर्क गरिन्।
अगस्ट २७ को अन्तर्वार्तामा उनले आन्दोलन सुरूमा नीट परीक्षाको विवादबाट उठे पनि पछि विभिन्न सरकारी भर्ती र शिक्षा प्रणालीको समस्यासम्म फैलिएको बताएकी छन्।
उनका अनुसार परीक्षाको प्रश्नपत्र चुहिनु, परीक्षा रद्द हुनु र परीक्षाका नाममा अनियमितता हुनु विद्यार्थीका अलग अलग समस्या होइनन्। यी सबै विषयमा जबाफदेही प्रणाली नहुनु ठूलो समस्या हो।
उनले विद्यालयको आधारभूत सुविधा, सार्वजनिक विश्वविद्यालयको अवस्था र सबै वर्गका विद्यार्थीलाई समान अवसर उपलब्ध गराउने प्रश्न पनि उठाएकी छन्।
नेहाको राजनीतिक सक्रियता दिल्लीमा मात्रै सीमित रहेन।
दिल्लीको प्रदर्शनपछि उनी झारखण्ड पुगिन्। त्यहाँ सरकारी भर्ती परीक्षामा भएको भनिएको अनियमितताविरूद्ध विद्यार्थीहरूले प्रदर्शन गरिरहेका थिए।
अगस्ट ७ मा राँचीमा भएको प्रदर्शन क्रममा एक व्यक्तिले उनीमाथि कालो मसी फ्याँक्यो।
घटनापछि पनि नेहाले आन्दोलन नछाड्ने बताइन्।
अगस्ट १२ मा प्रकाशित द इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा उनले राँचीमा आफूलाई धेरै विद्यार्थीले स्वागत गरेको उल्लेख गर्दै केही समूहले सामाजिक सञ्जालमार्फत घटनालाई फरक ढंगले प्रस्तुत गर्न खोजेको आरोप लगाएकी छन्।

वामपन्थी हुन्, तर अरू समूहसँग पनि मिलेर आन्दोलन गर्छिन्
नेहा आफ्नो राजनीतिक विचार लुकाउँदिनन्।
उनी आइसाकी अध्यक्ष हुन् र सिपिआई (एमएल) लिबरेसनसँग आबद्ध छिन्।
तर आन्दोलनमा सहभागी हुन सबैको राजनीतिक विचार एउटै हुनुपर्छ भन्ने उनको धारणा छैन।
अहिलेको युवा आन्दोलनमा आइसासँगै 'कक्रोच जनता पार्टी' (सिजेपी) लगायतका समूह सक्रिय छन्।
यी संगठनको राजनीतिक इतिहास र विचार एउटै छैन। सिजेपी नयाँ पुस्ताको असन्तुष्टिबाट उदाएको समूह हो भने आइसा लामो समयदेखि संगठित वामपन्थी राजनीतिमा सक्रिय छ।
त्यसो भए फरक विचार भएका यी समूह किन सँगै छन्?
अगस्टमा द इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा नेहाले यसको जबाफ दिएकी छन्।
उनका अनुसार कुनै समूहसँग सबै विषयमा सहमति हुनुपर्छ भन्ने छैन। विद्यार्थी र सर्वसाधारणका साझा समस्या समाधानका लागि फरक राजनीतिक पृष्ठभूमिका मानिसले सहकार्य गर्न सक्छन्।
कुनै दल वा नेताको समर्थनमा नभई एउटा सार्वजनिक मुद्दामा उभिनु पनि राजनीतिक काम नै भएको उनको तर्क छ।
उनी अहिलेको आन्दोलनलाई पूर्ण रूपमा विचारधाराविहीन ठान्दिनन्। बरू विभिन्न विचारधाराका मानिस साझा समस्याका कारण एउटै ठाउँमा आएको मान्छिन्।
नेहाको यो विचार नयाँ पुस्ताको राजनीतिसँग पनि जोडिएको छ।
परम्परागत राजनीतिक दल र नेताप्रति असन्तुष्ट रहेका धेरै युवा सडक आन्दोलनमा सहभागी भइरहेका छन्। तर उनीहरू सबै संगठित पार्टी राजनीतिमा जान चाहन्छन् भन्ने छैन।
नेहा भने सामाजिक आन्दोलनलाई दीर्घकालीन राजनीतिक परिवर्तनसँग जोड्नुपर्ने पक्षमा छिन्।
उल्लेख एनपीसँगको अन्तर्वार्तामा उनले भारतीय जनता पार्टीको विरोध चुनावमार्फत मात्र गरेर नपुग्ने आफ्नो राजनीतिक दृष्टिकोण खुलाएकी छन्।
उनका अनुसार, निर्वाचनमा प्रतिस्पर्धा गर्नु एउटा माध्यम हो। तर समाजमा रहेको असमानता र अन्याय हटाउन जनस्तरमा निरन्तर आन्दोलन र संगठन आवश्यक पर्ने उनी बताउँछिन्।
चुनाव लड्ने योजना छ?
नेहा चर्चित भएपछि भारतीय सञ्चारमाध्यमले उनको राजनीतिक भविष्यबारे पनि प्रश्न गर्न थालेका छन्।
के उनी आगामी दिनमा चुनाव लड्छिन्? के विद्यार्थी नेताबाट संसदीय राजनीतिमा प्रवेश गर्छिन्?
अगस्टमा द इन्डियन एक्सप्रेसले उनलाई यस्तै प्रश्न सोधेको थियो।
नेहाले आफ्नो राजनीतिक काम व्यक्तिगत चुनावी महत्त्वाकांक्षामा सीमित नभएको बताइन्।
उनका अनुसार पार्टीले आन्दोलन विस्तार गर्ने उद्देश्यले निर्वाचनमा सहभागी हुने निर्णय गरे त्यसमा भूमिका हुन सक्छ। तर राजनीतिमा लाग्ने सबै मानिस सांसद वा मन्त्री बन्नुपर्छ भन्ने छैन।
उनले ट्रेड युनियन, महिला संगठन र सामाजिक आन्दोलनमा काम गर्ने कार्यकर्तालाई पनि राजनीतिक परिवर्तनका महत्त्वपूर्ण पात्र मानेकी छन्।
यसबाट उनी तत्काल चुनावी पद प्राप्त गर्नेभन्दा सामाजिक आन्दोलन र संगठन निर्माणलाई महत्त्व दिन्छिन् भन्ने बुझिन्छ।
विद्यार्थीको आन्दोलन धेरै देखिन्छ, मजदुरको किन देखिँदैन?
नेहाले विद्यार्थी आन्दोलनको नेतृत्व गरिरहे पनि विद्यार्थीका मुद्दालाई अरू सामाजिक समस्याबाट अलग गरेर हेर्दिनन्।
अगस्ट २० मा डिटी नेक्स्टलाई दिएको अन्तर्वार्तामा उनले एउटा प्रश्न उठाएकी थिइन् — विद्यार्थीको आन्दोलन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक चर्चामा आउँछ, तर मजदुरको आन्दोलन किन त्यति देखिँदैन?
उनका अनुसार यसको एउटा कारण वर्गीय असमानता हो।
विश्वविद्यालयमा पढ्ने विद्यार्थीले सामाजिक सञ्जाल चलाउन, आफ्ना कुरा सार्वजनिक गर्न र संगठन बनाउन केही अवसर पाउँछन्।
तर दैनिक ज्यालादारी गरेर गुजारा चलाउने मजदुरसँग त्यस्तो अवसर नहुन सक्छ।
काम छाडेर आन्दोलनमा सहभागी हुँदा उनीहरूको आम्दानी नै रोकिन सक्छ।
त्यसैले सार्वजनिक रूपमा धेरै देखिने आन्दोलन नै समाजको सबभन्दा ठूलो समस्या हो भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनको तर्क छ।
नेहाले नयाँ पुस्ताको आन्दोलनलाई किसान, मजदुर र विगतका नागरिक अधिकारका संघर्षसँग जोडेर हेर्नुपर्ने बताएकी छन्।
यो उनको वामपन्थी राजनीतिक विचारको महत्त्वपूर्ण पक्ष हो।
उनका लागि विद्यार्थी आन्दोलन विश्वविद्यालयमा शुल्क घटाउने वा एउटा परीक्षाको परिणाम सच्याउने मुद्दामा मात्र सीमित छैन। उनी शिक्षा, रोजगारी र सामाजिक असमानताको विषयलाई एउटै ठूलो राजनीतिक समस्याका विभिन्न पक्ष मान्छिन्।

अहिले किन फेरि सडकमा छिन्?
भारतमा अहिले मतदाता नामावली संशोधनको विरोधमा प्रदर्शन भइरहेको छ।
निर्वाचन आयोगले मतदाता नामावली संशोधन गर्ने क्रममा ठूलो संख्यामा मतदाताको नाम हटाएको आन्दोलनकारीको आरोप छ।
सिजेपी नेतृत्वको आन्दोलनले करिब १३ करोड नाम हटाइएको दाबी गर्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेको छ।
निर्वाचन आयोगले भने राजनीतिक पक्षपात गरेको आरोप अस्वीकार गरेको छ। भारतीय जनता पार्टीले पनि नामावली संशोधन वैधानिक प्रक्रियाअन्तर्गत भइरहेको बताएको छ।
यही विवादमा भएका प्रदर्शनमा नेहा अग्रपंक्तिमा देखिएकी छन्।
रोयटर्सका अनुसार उनलाई पटक पटक प्रहरीले नियन्त्रणमा लिएको छ। छुटेपछि उनी फेरि प्रदर्शनमा सहभागी हुँदै आएकी छन्।
तर नेहा यो आन्दोलनकी एक्ली नेता होइनन्।
सिजेपी, आइसा र अन्य विद्यार्थी तथा युवा समूहको सहभागितामा प्रदर्शन भइरहेका छन्। तीमध्ये नेहा सार्वजनिक रूपमा धेरै देखिने वक्तामध्ये एक हुन्।
अहिले उनको चर्चा बढ्नुको एउटा कारण प्रहरीसँग भएका पटक पटकका मुठभेड र हिरासतका घटना हुन्।
अर्को कारण उनका भाषण हुन्।
उनी विद्यार्थीका समस्याबाट कुरा सुरू गर्छिन् र त्यसलाई संविधान, नागरिक अधिकार, सामाजिक असमानता तथा राज्यको जबाफदेहितासँग जोड्छिन्।
उनका भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार, भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रति आलोचना सुनिन्छ।
अक्टोबर पहिलो साता जादवपुर विश्वविद्यालयमा आयोजित कार्यक्रममा पनि उनले भाजपा र आरएसएसले शिक्षण संस्थाको लोकतान्त्रिक र धर्मनिरपेक्ष चरित्र कमजोर बनाएको आरोप लगाएकी थिइन्।
शान्त कुराकानी, चर्को भाषण
नेहा व्यक्तिगत कुराकानीमा शान्त भएर बोल्छिन्। तर भीडअगाडि माइक समातेपछि उनको शैली फेरिन्छ।
उनी हिन्दी र अंग्रेजीमा धाराप्रवाह भाषण गर्छिन्। हातको हाउभाउ प्रयोग गर्छिन्। सरकारका निर्णयलाई प्रश्न गर्छिन् र मानिसलाई सडकमा निस्किन आह्वान गर्छिन्।
थिएटरमा अभिनय गरेकी र त्यही विषयमा उच्च अध्ययन गरिरहेकी नेहाको सार्वजनिक अभिव्यक्तिको यो शैली उनको जीवनको एउटा चाखलाग्दो पक्ष हो।
कलेजमा नाटक खेल्दा उनी अरू मानिसको भूमिका निर्वाह गर्थिन्। अहिले सार्वजनिक आन्दोलनमा आफूले विश्वास गरेको विचारका पक्षमा बोलिरहेकी छन्।
तर राजनीतिक रूपमा चर्चित हुँदै जानुलाई उनी व्यक्तिको एक्लो उपलब्धिका रूपमा व्याख्या गर्दिनन्।
रोयटर्ससँगको अन्तर्वार्तामा उनले अहिलेको युवा आन्दोलन पछाडि लामो समयदेखि थुप्रिएको असन्तुष्टि रहेको बताएकी छन्।
उनका अनुसार शिक्षामा समस्या, रोजगारी अभाव, सामाजिक विभेद र राज्यप्रति अविश्वासजस्ता विषयले मानिसलाई आन्दोलनमा ल्याइरहेका छन्। उनले आन्दोलनमा सहभागी हुने युवाहरूमा आशा बढेको पनि बताएकी छन्।
रोयटर्ससँगको कुराकानीमा नेहाले भनेकी छन्, 'डर पनि संक्रामक हुन्छ, आशा पनि संक्रामक हुन्छ।'
मानिसहरू अरूलाई सडकमा निस्किएको देखेर आफै पनि बोल्ने साहस जुटाइरहेको उनको बुझाइ छ।
नेहा अहिले भारतीय राजनीतिमा चर्चित भए पनि उनको आगामी बाटो स्पष्ट छैन।
उनी विद्यार्थी राजनीतिमै सक्रिय रहन्छिन्, वामपन्थी पार्टी संगठनमा थप जिम्मेवारी लिन्छिन् वा कुनै दिन चुनाव लड्छिन् भन्ने निश्चित छैन।
तर उनको अहिलेसम्मको जीवनयात्राले एउटा कुरा देखाउँछ —
उत्तराखण्डको सैनिक परिवारमा हुर्किएकी, सिलिगुडीमा स्कुले शिक्षा लिएकी, दिल्लीमा समाजशास्त्र पढेकी र नाटकमा अभिनय गर्दागर्दै सामाजिक प्रश्नमा चासो राख्न थालेकी युवती आज भारतका चर्चित आन्दोलनकारीमध्ये एक बनेकी छन्।
नेहा बोराले सोमबार 'दिल्ली चलो' भन्दै आफ्नो फेसबुकमा लेखेको स्ट्याटस उनको राजनीतिक व्यक्तित्व र आन्दोलनकारी चरित्र बुझाउन काफी छ —
सरकार बीजेपी की हो,
कांग्रेस की हो,
AAP की हो,
आपके बाप की हो,
जवाबदेही देनी पड़ेगी,
मन की मानी- नहीं चलेगी।
(रोयटर्स, इन्डियन एक्सप्रेस, टाइम्स अफ इन्डिया, एबिपी लाइभ, उल्लेख एनपी लगायत विभिन्न सञ्चार माध्यममा प्रकाशित अन्तर्वार्ता र रिपोर्टमा आधारित।)
***
