नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मतगणना भइरहेको छ।
सभापतिसहित लगभग प्रमुख पदाधिकारीहरूको मतगणना सकिएसँगै निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणनालाई तीव्रता दिएको हो।
धेरै पद र उम्मेदवारका मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टरअनुसार छुट्टाछुट्टै समूह बनाएर गणना अगाडि बढाएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
जसअनुसार खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना पाँच स्थानमा भइरहेको छ भने प्रवासस्थित नेपाली जनसम्पर्क समितिको मतगणनालाई तीव्रता दिन सबैभन्दा धेरै नौ स्थानमा टोली परिचालन गरिएको छ।
त्यसैगरी, आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्यतर्फको गणना तीन स्थानमा भइरहेको छ।
सुदूरपश्चिम प्रदेशतर्फका खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना चार स्थानमा जारी छ। पिछडिएको क्षेत्रतर्फका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्य पदको गणना दुई स्थानमा भइरहेको छ।
यसरी कुल २३ स्थानमा एकसाथ मतगणना अघि बढाइएपछि नतिजा सार्वजनिक हुने क्रमले तीव्रता पाएको छ। उम्मेदवार तथा उनीहरूका आधिकारिक प्रतिनिधिको उपस्थितिमा सुरक्षा व्यवस्था कडा बनाएर मतगणना शान्तिपूर्ण रूपमा जारी राखिएको र बाँकी सबै पदको अन्तिम परिणाम छिट्टै सार्वजनिक गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी मतगणनालाई तीव्रता दिइएको छ।
अघिल्लो महाधिवेशनमा भन्दा दोब्बरभन्दा बढी, करिब सात हजार मतदाता भएकाले मतगणना ढिलो भएजस्तो देखिनु स्वाभाविक भएको उनको भनाइ छ। अघिल्लो महाधिवेशनमा झन्डै तीन हजार मतदाता हुँदा मतगणना सम्पन्न गर्न १२ दिन लागेको स्मरण गराउँदै उनले यसपटक भने त्यति समय नलाग्ने दाबी गरे।