चार दशकअघि दाङमा कांग्रेसका तत्कालीन शीर्ष नेताहरूको भाषण सुन्न पुगेकी डिला सङ्ग्रौला अहिले त्यही पार्टीको पहिलो महिला महामन्त्री बनेकी छन्।
विद्यार्थी संगठनबाट सुरू भएको उनको राजनीतिक यात्रा प्राध्यापन, महिला संघको नेतृत्व र संसदीय राजनीतिका घुम्ती पार गर्दै पार्टीको महामन्त्रीसम्म आइपुगेको हो।
कांग्रेसमा महामन्त्री पद कार्यकारी भूमिका भएको जिम्मेवारी मानिन्छ। ८ दशक लामो सांगठनिक जीवनमा कांग्रेसले १५ औं महाधिवेशनमा पहिलोपटक महिलाका लागि महामन्त्री पद आरक्षित गरेको थियो।
मकवानपुरकी नेता महालक्ष्मी उपाध्याया 'डिना', मोरङकी डिला र हेटौंडाकी रिता खनाल उक्त पदका प्रतिष्पर्धी थिए। विशेष महाधिवेशन अघिसम्म शेरबहादुर देउवा पक्षमै रहेका डिना र डिला बीचको चुनावी दौडमा डिलाले सफलता हात पारेकी छन्।
महामन्त्रीमा निर्वाचित भएपछि डिलाले आफूलाई थप जिम्मेवारी आएको बताएकी छन्।
‘पहिलो महिला महामन्त्रीको रूपमा निर्वाचित हुन पाउँदा म निकै खुसी छु र यसले ममा अझ ठूलो जिम्मेवारी थपिएको महसुस गराएको छ,’ सेतोपाटीसँगको कुराकानीमा उनले भनिन्, ‘आफूले पाएको यो जिम्मेवारीलाई पार्टी र देशहितका पक्षमा लगाउन दत्तचित्त रहनेछु।’
कांग्रेस इतिहासकै सबभन्दा धेरै समावेशी दल बनेको बताउँदै उनले यसपटकको महाधिवेशनमा युवा, विज्ञ, पेसाकर्मी, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न जातजातिका प्रतिनिधिले आ–आफ्ना मुद्दा लिएर प्रतिस्पर्धा गरेका थिए।
‘यसले नेपाली कांग्रेस कुनै पनि वर्ग वा तहबाट टाढा छैन र सबैका सवाललाई बोकेर अघि बढ्छ भन्ने सन्देश दिएको छ,’ उनले भनिन्।
राजनीतिमा होमिएको चार दशकमा कांग्रेसको शीर्ष तहमा पुगेकी डिला २०३६ सालको जनमत सङ्ग्रहताका कक्षा ९ मा पढ्थिन्।
कलिलो उमेरमै राजनीतिप्रति उनको चासो बढिसकेको थियो। त्यही वर्ष दाङमा बहुदलको पक्षमा आयोजित सभामा कांग्रेस नेताहरू बीपी कोइराला, गणेशमान सिंह र शैलजा आचार्यहरू पुगेका थिए। नेताहरूको स्वागतमा तैनाथ विद्यार्थीमध्ये डिला पनि एक थिइन्।
दाङको घोराहीस्थित टेरौटेमा जन्मेकी डिलाका लागि त्यो राजनीतिक गतिविधिसँग जोडिने सुरूआती अवसरमध्ये एक थियो। उनका आमाबुवा दुवै शिक्षक थिए। परिवारमा कांग्रेसका विचार र गतिविधिबारे निरन्तर छलफल हुन्थ्यो। त्यही वातावरणले उनलाई विद्यार्थी जीवनदेखि नै राजनीतितर्फ तानेको थियो।
विद्यालयको पढाइ पूरा गरेपछि उनी महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भइन्। क्याम्पस पढ्न थालेपछि नेपाल विद्यार्थी संघमा सक्रिय भइन्। विद्यार्थी संगठनमा आबद्ध भएपछि कांग्रेसका नेता, तिनका विचार र पार्टीको संगठनसँग उनको सम्पर्क अझ बढ्यो।
‘त्यतिबेला राजनीतिमा लागेको विद्यार्थी एक दिन पार्टीको महामन्त्री बन्नेछ भन्ने अनुमान गर्न सकिने अवस्था थिएन,’ उनको स्वीकारोक्ति छ, ‘मेरो राजनीतिक यात्रा पनि सिधै केन्द्रीय नेतृत्वमा पुगेको होइन।’
यसबीचमा विद्यार्थी राजनीतिसँगै अध्ययन, अध्यापन, घरपरिवार र संगठनको कामलाई सँगसँगै अघि बढाउँदै उनी पार्टीको केन्द्रीय तहसम्म आइपुगेकी हुन्।
महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा उनले ३ हजार ११८ मत पाइन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेका थिए।
डिलाको जन्म २०२० जेठ १२ गते दाङको घोराहीस्थित टेरौटेमा भएको हो। उनका बुवा टिकादत्त पन्त र आमा विद्यावती पन्त दुवै शिक्षक थिए। आठ दिदीबहिनी र दुई दाजुभाइ गरी १० सन्तानमध्ये उनी माइली छोरी हुन्।
महेन्द्र बहुमुखी क्याम्पसमा उच्च शिक्षा लिँदै गर्दा २०४० मंसिर १ गते उनको विवाह विराटनगरका प्राध्यापक सूर्यप्रसाद सङ्ग्रौलासँग भएको थियो।
विवाहपछि पनि उनले पढाइलाई निरन्तरता दिइन्। परिवार र अध्ययनको जिम्मेवारीसँगै राजनीतिमा सक्रिय रहिन्। उनका श्रीमान पनि प्राध्यापनमा आबद्ध भएकाले उनको जीवनमा अध्ययन र शिक्षणको भूमिका महत्त्वपूर्ण रह्यो।
२०४२ सालमा श्रीमानको सरूवा धरानमा भएपछि उनी परिवार सहित त्यहाँ पुगिन्। २०४४ सालमा परिवार विराटनगर सर्यो। विराटनगर आएपछि उनको अध्ययन, अध्यापन र राजनीतिक गतिविधि अघि बढाउन सहज भयो।
उनले त्रिभुवन विश्वविद्यालयबाट संस्कृति विषयमा स्नातकोत्तर गरिन्। २०५१ सालदेखि विराटनगरको कन्या क्याम्पसमा आंशिक रूपमा अध्यापन सुरू गरेकी उनी पछि महेन्द्र मोरङ क्याम्पसमा स्थायी उपप्राध्यापक भइन्। स्नातकोत्तर क्याम्पसमा पनि उनले अध्यापन गरेकी थिइन्।
प्राध्यापनमा रहेकै समयमा उनले अनुसन्धानलाई पनि अघि बढाइन्। त्रिभुवन विश्वविद्यालयबाट उनले ‘विराटनगरका वैष्णव सम्प्रदायहरू’ विषयमा विद्यावारिधि गरिन्। उनको अध्ययनको विषय नेपाली इतिहास, संस्कृति र पुरातत्त्वसँग सम्बन्धित थियो।
यस अवधिमा उनी प्राध्यापनमा मात्र सीमित रहिनन्। महिला अधिकार, सामाजिक काम र प्राध्यापकहरूको हकहितसँग सम्बन्धित गतिविधिमा पनि सहभागी भइन्। नेपाल प्राध्यापक संघमा विभिन्न जिम्मेवारी सम्हालेकी उनले चेलीबेटी बेचबिखनविरूद्धको काम तथा असहाय र सीमान्तकृत समुदायसँग सम्बन्धित सामाजिक गतिविधिमा समेत संलग्न भइन्।
विराटनगर आएपछि डिलाले कांग्रेसको स्थानीय संगठनबाट औपचारिक राजनीतिक जिम्मेवारी सम्हाल्न थालिन्।
२०४४ सालतिर उनलाई कांग्रेसको क्रियाशील सदस्यता दिइएको थियो। त्यसपछि स्थानीय महिला संघको नेतृत्वमा पनि जिम्मेवारी पाइन्।
२०४६ सालको जनआन्दोलनमा उनी पतिसँगै विराटनगरमा भएका सभा र र्यालीमा सहभागी भइन्। त्यसपछि कांग्रेसको स्थानीय संगठनमा उनको संलग्नता बढ्दै गयो। महिला संघ, वडा समिति र नगर तथा जिल्ला तहका जिम्मेवारी सम्हाल्दै उनी पार्टीको संगठनमा अघि बढिन्।
२०५३ सालमा भएको कांग्रेसको नवौँ महाधिवेशनदेखि उनी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुँदै केन्द्रीय राजनीतिसँग जोडिइन्।
२०६४ सालको संविधानसभा निर्वाचन उनको राजनीतिक जीवनको महत्त्वपूर्ण मोड बन्यो। कांग्रेसले उनलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने निर्णय गरेपछि उनले विश्वविद्यालयको स्थायी जागिरबाट राजीनामा दिइन्। तर, निर्वाचनपछि उनी संविधानसभा सदस्य बन्न सकिनन्।
पार्टीको आश्वासनअनुसार संविधानसभामा पुग्न नपाएपछि उनको राजनीतिक यात्रा केही समय अन्योलमा पर्यो।
विश्वविद्यालयको स्थायी जागिर समेत छाडिसकेकी उनलाई अब राजनीतिमै निरन्तरता दिने कि भन्ने प्रश्न थियो। उनले पार्टीको काम छाडिनन्। बरू विद्यावारिधिको अध्ययन अघि बढाइन् र मोरङमा पार्टीको जिम्मेवारी सम्हालिरहिन्।
२०६८ साल माघ २१ गते कांग्रेसले उनलाई नेपाल महिला संघको केन्द्रीय तदर्थ समितिको अध्यक्ष बनायो। संघलाई व्यवस्थित गर्दै राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी उनको काँधमा आयो।
‘त्यतिबेला महिला संघको संगठन देशभरि सक्रिय बनाउने र विभिन्न पक्षबीच सहमति कायम गर्ने काम चुनौतीपूर्ण थियो,’ उनले सम्झना गरिन् ‘संगठन विस्तार, सदस्यता वितरण र जिल्ला तथा क्षेत्रीय तहका संरचना सक्रिय बनाउने काममा मेरो नेतृत्वको टिमले उल्लेख्य सफलता हात पार्यो।’
उनकै नेतृत्वमा २०७३ भदौ २९ देखि ३१ गतेसम्म नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो। त्यसपछि उनले संघको नेतृत्व नयाँ कार्यसमितिलाई हस्तान्तरण गरिन्।
२०६७ सालको कांग्रेसको १२औँ महाधिवेशनमा उनले केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरेकी थिइन्। त्यसबेला उनी निर्वाचित हुन सकिनन्।
महिला संघको नेतृत्वमा रहेर संगठन विस्तार र राष्ट्रिय महाधिवेशन सम्पन्न गरेपछि २०७२ सालको १३ औँ महाधिवेशनमा उनले फेरि केन्द्रीय सदस्यमा उम्मेदवारी दिइन्। यसपटक भने उनी लोकप्रिय मतसहित निर्वाचित भइन्।
केन्द्रीय सदस्य बनेपछि पार्टीभित्र उनको जिम्मेवारी थपियो। महिला अधिकार र संगठन निर्माणका मुद्दालाई पार्टीको केन्द्रीय तहमा उठाउने अवसर पनि प्राप्त भयो।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिकतर्फबाट सांसद बनिन्। त्यसपछि संसद्मा कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिन्।
त्यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेको थियो। कांग्रेस प्रतिपक्षमा थियो। कांग्रेसले सरकारका कामको निगरानी गर्न बनाएको छाया सरकारमा रहेर डिलाले पनि जिम्मेवारी निर्वाह गरिन्।
२०७८ सालमा भएको कांग्रेसको १४औँ महाधिवेशनबाट उनी फेरि केन्द्रीय सदस्यमा निर्वाचित भइन्। यससँगै उनको केन्द्रीय संगठनमा निरन्तरता कायम रह्यो।
कांग्रेसभित्र नियमित महाधिवेशन गर्ने कि नगर्ने भन्ने विवाद बढ्दै जाँदा डिला पार्टीको नेतृत्व परिवर्तन र संगठन रूपान्तरणको पक्षमा उभिइन्।
शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरूको एउटा समूहले आमनिर्वाचनमा जानुअघि पार्टीको महाधिवेशन गर्नुपर्ने पक्ष लिएको थियो। डिला पनि त्यही समूहमा थिइन्।
गतवर्ष पुसमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा उनी सहभागी भइन्। उक्त महाधिवेशनबाट गगन थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापति बने। प्रदीप पौडेल र गुरूराज घिमिरे महामन्त्री निर्वाचित हुँदा महिला क्लस्टरतर्फ डिला सहमहामन्त्री बनिन्। उनीसहित आठ जना सहमहामन्त्री विभिन्न समावेशी समूहबाट निर्वाचित भएका थिए।
त्यसअघि केन्द्रीय सदस्य र महिला संघको अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी डिलाका लागि सहमहामन्त्री पद पार्टीको पदाधिकारी तहमा पुग्ने अवसर थियो। विशेष महाधिवेशनले कांग्रेसको नेतृत्व र संगठन संरचनामा परिवर्तन ल्याएको थियो।
यसपटकको १५ औँ महाधिवेशनमा उनी महामन्त्री पदको प्रतिस्पर्धामा उत्रिइन्। यसपटक कांग्रेसले विधान संशोधन गरेर महिलाका लागि महामन्त्रीको छुट्टै पदको व्यवस्था गरेको थियो । यही व्यवस्थाअनुसार भएको निर्वाचनबाट उनी पार्टीको पहिलो महिला महामन्त्री बनिन्।
कांग्रेसको इतिहासमा यसअघि महिलाहरू उपसभापति पदसम्म पुगेका थिए। शैलजा आचार्य पार्टीको पहिलो महिला उपसभापति बनेकी थिइन् भने पुष्पा भुसाल पनि विशेष महाधिवेशनबाट उपसभापति बनिन्। यसपटक पनि भुसाल निर्विरोध रूपमा महिला उपसभापति बनेकी छन्।
कार्यकारी मानिने महामन्त्री पदमा भने डिलाले पहिलो पटक महिलाको प्रतिनिधित्व सुनिश्चित गरिन्।
महामन्त्रीमा निर्वाचित भएको भोलिपल्ट सोमबार सेतोपाटीसँग कुराकानीका क्रममा उनले महाधिवेशनमा विभिन्न पदका लागि प्रतिस्पर्धा गरेका सबैलाई समेटेर अघि बढ्नुपर्ने बताएकी छन्।
पद सीमित हुने भएकाले प्रतिस्पर्धामा रहेका सबैलाई पार्टीमा जोडेर लैजानुपर्ने उनको भनाइ छ।
विशेष महाधिवेशनपछि कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि पार्टीभित्रका सबै पक्षलाई समेट्ने विषय मुख्य चुनौतीका रूपमा उपस्थित छ। नवनिर्वाचित महामन्त्री डिलाले पनि यही विषयलाई आफ्नो प्राथमिकतामा राखेकी छन्।
‘मेरो आदरणीय नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा मेरो आस्था र विश्वासको धरोहर हुनुहुन्छ, जसको लोकतान्त्रिक आन्दोलन र पार्टी निर्माणमा रहेको योगदानलाई कांग्रेस र नेपाली भूमिले कहिल्यै बिर्सने छैन,’ उनले भनिन् ‘उहाँ सहितका नेताहरूलाई पार्टीमा समेटेर उहाँले अभिभावकीय भूमिका निर्वाह गरेर पार्टीलाई एकताबद्ध बनाउन योगदान दिने विश्वास छ।’
सभापति गगन थापाले पार्टीका सबै पक्षलाई समेट्न गरेको प्रयासमा आफूहरू साथमा रहेको पनि उनले बताएकी छन्।
‘आगामी दिनमा पनि कांग्रेसलाई एकजुट बनाएर लैजान म आफ्नो ठाउँबाट प्रतिबद्ध छु,’ उनले भनेकी छन्।