नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको छ।
संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने भएको छ।
यातायात व्यवस्था विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार नयाँ व्यवस्थामा डिलरबाट गरिएको सवारी जाँचलाई नै मान्यता दिइनेछ।
यसअघि जस्तै पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने व्यवस्था हटाइएको छ।
त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्र लिएर कार्यालयमा उपस्थित भई दर्ता तथा नामसारीको काम गर्न सक्नेछ।
बीमा तथा बीमा नवीकरणका लागि पनि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ।
नामसारी प्रक्रियामा बायोमेट्रिक विवरण संकलन गर्ने व्यवस्था मिलाउन यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था गरिएको छ।
विभागका अनुसार निजी तथा सार्वजनिक सवारी साधनको नामसारी गर्दा विभागबाट विआरएस (VRS) प्रणालीमा आवश्यक प्राविधिक व्यवस्था भएपछि सवारी बिक्रेता, वितरक वा कम्पनीले बायोमेट्रिक लिन सक्ने गरी पहुँच उपलब्ध गराइनेछ।
