नेकपा एमालेका अध्यक्ष केपी शर्मा नेपालमा एमालेमाथि चौतर्फी घेराबन्दी रहेको बताएका छन्।
पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उनले पार्टीमाथि भइरहेको घेराबन्दीलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताए।
उनले विगत केही वर्ष अगाडिदेखि नै एमालेमाथि घेराबन्दी हुँदै आएको बताए।
आगामी निर्वाचनमा पनि एमालको विरूद्धमा मोर्चाबन्दी हुनसक्ने उनले बताए।
एमाले विरूद्धको २०७७ सालदेखि नै घेराबन्दी सुरू हुन लागेको उनको आरोप छ।
उनले २०७७ सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ साल भदौ १० गते पार्टी विभाजन गराएको बताए।
२०७९ सालको निर्वाचनमा विभिन्न राजनीतिक दलले एमालेविरूद्ध मोर्चाबन्दी गरेको उनको भनाइ छ। त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि एमालेलाई बलियो बनाउन लाग्नुपर्ने बताए।
उनले सामाजिक सञ्जालमार्फत एमाले पार्टी र नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास हाल पनि जारी रहेको आरोप लगाए।
उनले पार्टीभित्रकै केही नेताका गलत गतिविधिका कारण पनि थप चुनौती उत्पन्न भएको बताए।
उनले भने, ‘हाम्रो अगाडि निर्वाचन आउँदैछ र यस निर्वाचनमा पनि हामीलाई घेर्ने काम हुन सक्छ, हामी विरूद्धको घेराबन्दी सिद्धिएको छैन। यो एकदमै चालू छ अहिले पनि। घेराबन्दी चालू छ। २०७७ सालमा सालमा हाम्रो पार्टी कब्जा गरेरै ध्वस्त पार्न खोजियो, म समेत १० जना नेता पार्टीबाट निष्कासन गरियो। हामीले नै एकताका लागि भनेर दिएको बहुमतको दुरूपयोग गर्ने काम भयो। हामीले पुनर्गठन गरेर अगाडि बढ्यौँ। फेरि २०७८ साल भदौ १० गते फेरि हाम्रो पार्टी फुटाइयो। हाम्रा पार्टीका हस्ती भनेका व्यक्तिहरूबाटै पार्टी फुटाइयो। हामीले अत्यन्तै उदारताका साथ, अत्यन्तै फराकिलोपनका साथ, मनका साथ व्यवहार गर्यौँ। सकेसम्म साथीहरूलाई फेरि समेट्यौँ र अगाडि बढ्यौँ। २०७९ को निर्वाचनमा देश नै हाम्रा विरूद्ध चुनावमा मोर्चाबन्दी। सिङ्घै देशको हामी विरोधी मोर्चा भयो। सबैका विरूद्ध हामी लड्नुपर्यो।’
उनले अगाडि भने, ‘मोर्चा सानोतिनो थिएन, हाम्रा विरूद्धको। फेरि पनि हामी सबभन्दा पपुलर पार्टी भयौँ। त्यसपछि हामी विरूद्धको अभियान अर्को ढङ्गले तीव्र पारियो, सामाजिक सञ्जालमार्फत हाम्रो चरित्र हत्या गर्ने, हामीलाई जनताका नजरमा गिराउने, अलोकप्रिय बनाउने, हाम्रो लोकप्रियता घटाउने, यी सब कामहरू भए। यसका विरूद्ध पार्टी एकजुट भएर लड्यो, लड्नुपथ्र्यो। केही साथीहरूलाई सम्झाउन सकिएन, केही साथीहरू अलिकति गलत धन्दामा संलग्न भइरहे। जहिले पनि पार्टीभित्र विरोध नै गरिरहने, सहमति भनेको कहिल्यै पनि नहुने त्यस्तो पनि हुन्छ? तर त्यस्तो केही भयो। अब हामीले ती कुरा गर्नु पनि हुँदैन, गर्न दिनु पनि हुँदैन। त्यस्तो हुन पनि हुँदैन, हुन दिनु पनि हुँदैन। यो पार्टी महान् उद्देश्य बोकेर सत्य, समानता र मानवताको बाटोमा हिँडेको पार्टी हो। ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने बाटोमा हिँडेको पार्टी हो, हामी साना–मसिना गलत कुरा, क्रियाकलापमा अल्झिने हुँदैन । त्यसकारण पार्टीमा सुदृढ एकताका साथ अगाडि बढ्नुपर्छ। आजको आवश्यकता त्यही हो।’
अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाउने काम भइरहेको पनि आरोप लगाए।
नेपालको राष्ट्रिय अस्मितामा आँच पुर्याएर स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको उनको दाबी छ।
नेपालको स्वाधीनता र स्वतन्त्रताको पुनःस्थापनाका लागी आन्दोलनमा उत्रिनपर्ने अवस्था समेत आउन सक्ने उनले बताए।
आन्दोलनका क्रममा दमन भएमा त्यसको प्रतिवाद गर्ने उनको भनाइ छ।
उनले आन्दोलन न्याय, शान्ति र अग्रगमनका लागि हुनुपर्ने बताए। तर नेपालमा आगजनी र लुटपाटलाई आन्दोलन भनेर आन्दोलनकै अपव्याख्या भइरहेको उनको भनाइ छ।