नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा तीव्र गतिमा भइरहेको केन्द्रीय निर्वाचन समितिको दाबी छ।
दसैंलाई ध्यानमा राखेर मतगणना छिटो सम्पन्न गर्न आज पनि औसतमा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाइएको निर्वाचन समितिको भनाइ छ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार दुई क्लस्टरको मतगणना बिहानै सकिएको छ भने चार क्लस्टरको गणना जारी छ। अन्य छ क्लस्टरको मतगणना सुरु गर्ने तयारी भइरहेको छ।
निर्वाचन समितिका अनुसार जनसम्पर्कतर्फ दुई महिला र पाँच खुलासहित सात जना केन्द्रीय सदस्यको मतगणना सकिएको छ। पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना पनि पूरा भएको छ।
हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ।
त्यस्तै, आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेशबाट भूगोलतर्फका खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मतगणना पनि तीव्र गतिमा भइरहेको छ।
निर्वाचन समितिले बाँकी क्लस्टरको मतगणना पनि सुरू गर्ने तयारी गरेको छ। धेरैको चासो रहेको खुलातर्फका ४५ जना केन्द्रीय सदस्यको मतगणना पनि सुरु गर्ने तयारी छ।
यसैगरी, दलिततर्फको सहमहामन्त्री तथा खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्य; अल्पसंख्यक तथा अपाङ्गतातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य; मधेसीतर्फको सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य; खस–आर्यतर्फको सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य; र पेसागततर्फका खुला तथा महिला केन्द्रीय सदस्य पदको मतगणना गर्ने तयारी भइरहेको कांग्रेसको मिडिया सेन्टरले जनाएको छ।
एकैपटक २५ वटा समूह परिचालन गरिएकाले मतगणनाले गति लिएको निर्वाचन समितिको भनाइ छ। समितिले बुधबारसम्म सबै पदको मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यसहित गणना अघि बढाएको जनाएको छ। मतगणना स्थल सानेपामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको छ।