जर्मनीका लागि नेपाली राजदूतमा प्रस्तावित सरू जोशीले कूटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपालको हित र समृद्धिका लागि आफ्नो अनुभवलाई पूर्ण रूपमा उपयोग गर्ने बताएकी हुन्।
प्रस्तावित राजदूत जोशीले संयुक्त राष्ट्र संघमा करिब २१ वर्ष काम गरेको अनुभवलाई कूटनीतिक क्षेत्रमा प्रयोग गर्दै नेपालको छवि सुधार र आर्थिक उन्नतिमा उपयोग गर्ने बताइन्।
उनले आफूले कुनै पनि गैरसरकारी संस्थामा काम नगरेको स्पष्ट पार्दै राष्ट्रसंघीय निकायमा गरेको कामले स्वार्थको द्वन्द्व नहुने दाबी गरिन्।
उनले आफ्नो कूटनीतिक प्राथमिकताका रूपमा आर्थिक कूटनीति, पर्यटन प्रवर्द्धन र वैदेशिक रोजगारीको व्यवस्थापनलाई अघि सारिन्।
श्रम बजारको विषयमा उनले नेपाल र जर्मनीबीचको कन्सुलर सेवा र श्रम सम्झौतालाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरिन्।
दक्ष जनशक्ति पठाउने र नेपालमा रहेको जनशक्ति अभावलाई सम्बोधन गर्न निजी क्षेत्र र सरकारी निकायसँग समन्वय गरी कार्ययोजना बनाउने उनको भनाइ छ।
जोशीले भनिन्, ‘कूटनीति भनेको केबल प्राविधिक विषय होइन, यो अवसर खोज्ने माध्यम पनि हो। फिलिपिन्सबाट सिकेको अनुभवअनुसार म साना–साना अवसरहरूलाई पनि ग्रयाब गर्दै दुवै मुलुकको हित हुने गरी परिणाममा लैजान केन्द्रित हुनेछु।’
युक्रेनमा रहेका नेपाली र युद्धबन्दीका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अघि बढ्ने बताउँदै उनले नेपालको जडीबुटीजन्य उत्पादनको निर्यातका लागि ल्याब टेस्ट र प्रमाणीकरणको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइन्।
उनले जर्मनीमा रहेको नेपाली डायस्पोराको सीप र नेटवर्कलाई नेपालको विकासमा औपचारिक च्यानलमार्फत जोड्ने योजना पनि सुनाइन्। –न्युज एजेन्सी नेपाल